महसुल नतिर्ने विराटनगरका २ हजार ७ सय ८० ग्राहकको लाइन काटियो

IMG-20240422-WA0003

झापा (नेपाल): नेपाल विद्युत् प्राधिकरणको मोरङ  जिल्लाको विराटनगर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने विराटनगरका २ हजार ७ सय ८० जना ग्राहकको लाइन काटेको छ। प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत चालु आर्थिक वर्षको नौ महिनामा (साउनदेखि चैतसम्म) विराटनगरमा सो सङ्ख्याका ग्राहकको लाइन काटिएको हो। लाइन काटेर चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रु ५ करोड ५४ लाख ९२ हजार ६ सय ७५ रुपियाँ ६९ पैसा बक्यौता असुल गरिएको नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रका इन्जिनियर सरोज कुमार अन्सारीले बताए।

लाइन काटिएका दुई हजार ७ सय ८० जना ग्राहकबाट रु १३ करोड ६ लाख ९६ हजार ५ सय ६ रुपियाँ २६ पैसा महसुल बक्यौता उठाउनुपर्ने थियो। लाइन काटेपछि रु ५ करोड ५४ लाख ९२ हजार ६ सय ७५ रुपियाँ ६९ पैसा उठाई दुई हजार २ सय ७५ जना ग्राहकको पुन:लाइन जडान गरिएको विराटनगर वितरण केन्द्रले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रअन्तर्गत विराटनगर महानगरपालिका,बुढीगंगा,कटहरी,ग्रामथान,जहदा गाउँपालिका पर्छन्। जसमा हाल ८४ हजार पाच सय जना ग्राहक रहेका छन्। विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ। मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ। मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ। २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था रहेको छ। लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ। विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तानी नगर्ने उपभोक्ताहरूको चरणबद्ध रूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुल उपर गर्ने रणनीति लिएको प्राधिकरणले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *