गान्तोक: सिक्किम राज्यमा लकडाउन पछि पर्यटकहरूको आगमन संख्यामा तीब्र वृद्धि भइरहेको छ। विशेष गरेर दुई वर्षसम्म लकडाउन हुँदा राज्यको पर्यटन क्षेत्रमा धेरै नोक्सानी पुगेको थियो। तर लकडाउन खुलेपछि भने राज्यमा विस्तारै पर्यटकहरूको आगमन संख्यामा वृद्धि हुँदै गइरहेको एसकेएम पर्यटन प्रकोष्ठको भनाइ रहेको छ। वर्तमान परिपेक्ष्यमा राज्यमा पर्यटकहरूको आगमन संख्यामा तीब्ररूपमा वृद्धि भएको जानकारी गराइएको छ। वर्तमान सरकारले पर्यटन क्षेत्रलाई विकसित गर्नको निम्ति विभिन्न पहलहरू शुरू गरेको छ भने आगामी दिनमा राज्यमा अधिक मात्रमा पर्यटकहरूको आगमन हुनसक्ने पनि सम्भावना व्यक्त गरिएको छ।सिक्किमको जलवायु र यहाँका मानिसहरूको पर्यटकहरूलाई गरिने व्यवहारप्रति आकर्षित बन्दै सिक्किममा देश- विदेशबाट पनि पर्यटकहरूको आगमन हुँदै गएको प्रकोष्ठका अधिकारीहरूको भनाइ रहेको छ। एसकेएम सरकारले राज्यमा पर्यटनहरूलाई आकर्षित तुल्याउने उद्देश्यले नयाँ हेलिकप्टरको पनि सञ्चालन गरेको छ भने पर्यटकहरूलाई शहरमा मात्र सीमित नराखेर गाउँमा पुऱ्याउनु पर्छ भन्ने उद्देश्यले मेगा होम स्टे परियोजना शुरू गरेको छ। यसो हुनाले गाउँका मानिसहरूसमक्ष पैसा पुग्ने र उनीहरू आर्थिकरूपमा पनि सबल हुन सक्ने उददेश्य लिएर सरकारले होम स्टे परियोजना शुरू गरेको छ।