खरसाङ: साहित्यकार शिशुपाल शर्माको निधनमा गोर्खा जनपुस्ताकालय खरसाङद्वारा शोक सभाको आयोजना गरेको छ। भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो संस्था गोर्खा जनपुस्ताकालयको सदस्य रहेका खरसाङका साहित्यकार शिशुपाल शर्माको निधनमा शोक सभा आयोजना गरी एक मिनटको मौन धारण गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ भने शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरिएको छ। उक्त शोक सभा गोजपुको अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षता र मूल सचिव विनोद रसाइलीको सञ्चालनमा सम्पन्न भएको छ। उक्त शोक सभामा साहित्यकार शिशुपाल शर्माको जीवनी र योगदान विषयमा वरिष्ठ सदस्य एवं समाज सेवी तिलक शर्माले वक्तव्य राखेका थिए। त्यसरी नै उपाध्यक्ष प्रकाश प्रधान, पूर्व अध्यक्ष रबीन कुमार प्रधान र अध्यक्ष पूर्ण गुरुङ निरुपमले वक्तव्य राखेका थिए। कार्यक्रममा साहित्यकार शिशुपाल शर्माको जीवनी र योगदान विषयमा चर्चा परिचर्चा गरिएको छ। उनले गोर्खा जनपुस्ताकालय खरसाङको हरेक कार्यक्रममा उपस्थिति दिने गरेको तथा पुस्तकालयको हरेको कार्यक्रमहरूमा दिएको विशेष योगदानको पनि उल्लेख गरेका थिए। शिशुपाल शर्मा खरसाङका वरिष्ठ साहित्यकार साथै अनुवादक र बाल साहित्य अकादमी पुरस्कार प्रापक वरिष्ठ साहित्यकार थिए। उनले २०१२ मा बाल साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए।
उक्त शोक सभामा गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट निरंकर थापा, महेशकुमार प्रधान, अरूण लामा, पी लक्की शेर्पा, गोमा सुब्बा कृष्ण पाण्डे, कुमार मंग्राती, अदिप कुमार रोका लगायत अन्यहरू उपस्थित रहेका थिए।