सिक्किममा ११औं विधानसभा र १८औं लोकसभा चुनाउको कुल ७९.९० प्रतिशत मतदान

photocollage_2024420223032896.jpg

गान्तोक: सिक्किममा ११औं विधानसभा र १८औं लोकसभा चुनाउको निम्ति हिजो (शुक्रवार) शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भयो। सिक्किममा कुल ७९.९० प्रतिशत मतदान भएको जानकारी राज्यका मुख्य निर्वाचन अधिकारीले शनिवार सॉंझ जारी एक प्रेस विज्ञप्तिमा दिएका छन्। पोस्टल ब्यालेट मिलाएर मत प्रतिशतको आंकड़ा लगभग चार प्रतिशत वृद्धि हुन सक्ने पनि बताइएको छ।

शुक्रवार बिहान सात बजीदेखि शुरू भएको मतदान सॉंझ पॉंच बजीसम्म चल्ने निधारित समय थियो। यद्यपि, कतिपय मतदान केन्द्रहरूमा अबेर रातिसम्म मतदान चलिरह्यो। राज्यका ३२ वटा विधानसभा क्षेत्रमा ६ वटा राजनीतिक पार्टीका उम्मेदवारहरू अनि ८ स्वतन्त्र उम्मेदवारगरी मोठ १४६ उम्मेदवार चुनाउको मैदानमा उत्रिएका छन्। राज्यका एकमात्र लोकसभा आसनको निम्ति १४ जना उम्मेदवार खड़ा भएका छन्।

मतदाताहरूले उम्मेदवारहरूको भाग्य आज ईभीएम मेसिनमा बन्द गरेका छन्। सिक्किम राज्य विधानसभा चुनाउको मतगणना आगामी २ जूनमा हुनेछ भने लोकसभा चुनाउको मतगणना देशव्यापीरूपमा ४ जूनमा हुनेछ।

राज्यका मुख्यमन्त्री एवं सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष प्रेमसिंह तामाङ दुईवटा समष्टि सोरेङ-च्याखुङ र रिनाकबाट चुनाउमा खड़ा भएका छन्। यसरी नै पूर्व मुख्यमन्त्री एवं सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङ पनि दुईवटा समष्टि, पोकलोक कामराङ र नाम्चेबुङबाट खड़ा भएका छन्। सिटिजन एक्सन पार्टी सिक्किमका प्रमुख समन्वयक गणेश कुमार राई पनि दुईवटा समष्टि मल्ली र छुजाचेनबाट खड़ा भएका छन्।

मतदानका निम्ति राज्यभरि ५७३ मतदान केन्द्र स्थापित गरिएको थियो। राज्यमा मोठ ४ लाख ६६ हजार ४३१ मतदाताहरू छन्। यीमध्ये २ लाख ३२ हजार ३८१ पुरुष मतदाता रहेका छन् भने २ लाख ३१ हजार ५४५ महिला मतदाता रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement