गान्तोक: गेजिङ जिल्लाको चारवटा निर्वाचन क्षेत्रहरूमा हिजो शान्तिपूर्णरूपमा मतदान समप्न्न भयो, जहाँ ७४ वटा पोलिङ स्टेशन रहेको थियो। स्थानीयहरूले प्रजातन्त्रमा विश्वास राख्दै आफ्नो बहुमूल्य मतदान गरे। गेजिङ जिल्लामा ८३.२१ प्रतिशत मतदान भएको जानकारी गराएको छ। उक्त जिल्लाका कूल ५९,४०५ जना मतदाताहरू रहेका थिए, जसमा २९,६६७ पुरूष र २९,७३८ जना महिला मतदाताहरूको संख्या रहेको थियो। गेजिङ जिल्लामा शान्तिपूर्ण ढङ्गमा मतदान सम्पन्न भएको र यसलाई सही ढङ्गमा सञ्चालन गर्नको निम्ति प्रशासनले कुनै प्रकारको कसर बाँकी नराखेको जानकारी गराइएको छ। विशेष गरेर जिल्ला चुनाउ अधिकारी, रिटर्निङ अधिकारी र कण्ट्रोल टोलीले पोलिङ बुथमा रहेको सबै समस्या र चुनौतीहरूलाई पारदर्शी ढङ्गमा पुरा गर्दै चुनाउ प्रक्रियालाई सही ढङ्मा अघि बढाएको जानकारी गराइएको छ। चुनाउमा प्रयोग गरिएका सबै इभीएमहरू सेक्टर मेजिस्ट्रेटको निगरानीमा कढा सुरक्षाबीच क्योङसा कन्या वरिष्ठ माध्यमिक विद्यालयमा स्थापना गरिएको स्ट्रङरूममा राखिएको छ। इभीएम राख्ने क्रममा जनरल अबजर्भर पंकज यादव, जिल्लापाल एम भरानी कुमार लगायत अन्य अधिकारीहरू पनि उपस्थित रहेका थिए।










