दार्जिलिङ: घुम जोरबङ्लो महाविद्यालयको प्रेक्षालयमा परिधि प्रकाशनद्वारा प्रकाशित डा. महेश दाहालको कविताकृति ‘धस्काइहरूमा उभिनु छ’ सार्वजनिक गरियो। नेपाली विभाग, घुम जोरबङ्लोको आयोजनामा सम्पन्न यस कार्यक्रममा प्रा. चन्दन थापाले स्वागत सम्बोधन प्रस्तुत गरेका भने कार्यक्रम गजलगो सन्जोग खवासको गजल पठनबाट प्रारम्भ भएको थियो। प्रकाशक तथा गफसफ डट कमका सञ्चालक कवि कर्ण विरहले “धस्काइहरूमा उभिनु छ”- कृतिका सर्जक डा. महेश दाहाललाई पाठकका पक्षबाट केही प्रश्न राखे भने कार्यक्रममा श्रोताहरूले पनि विभिन्न जिज्ञासासहित प्रश्न राखेकी थिए। अन्तर्क्रियात्मक रूपमा यसरी कार्यक्रम सम्पन्न भइसकेपछि कृतिकारका पक्षबाट डा. महेश दाहालले सम्पूर्णमा आभार प्रकट गरे।
“धस्काइहरूमा उभिनु छ “कविता सङ्ग्रह महेश दाहालको नवौँ कृति हो जसमा ४३ वटा कविताहरू समाविष्ट छन्। आज लोकार्पित कृति विषयमा बोल्दै कवि कर्ण विरहले भने, “अलिकति गम्भीर, अलिकति प्रेमिल, अलिकति आध्यात्मिक, अलिकति दार्शनिक र अलिकति रौसे प्रवृत्तिका कविता लेख्ने कवि हुन् महेश दाहाल।“ कार्यक्रमलाई कवि प्रितम मैनालीले सञ्चालन गरेका थिए।










