दार्जीलिङ: भाजपाका उम्मदेवार तथा वर्तमान सांसद राजु बिष्टले आज सुखिया पोखरीमा गठबन्धन पार्टीका नेताहरूसँग चुनावी जनसभालाई सम्बोधन गर्दौ आम निर्वाचनमा जनताबाट आशीर्वाद र समर्थनको अनुरोध गरे। आफ्नो सम्बोधनमा उनले टीएमसी सरकारद्वारा ‘स्वयं सेवावाद’को नाममा हरेक चिजलाई अस्थायी राखेर थोपरिएको उनले बताए। उनले भने, ‘सरकारी कर्मचारीदेखि शिक्षाविदहरू अनि नागरिक स्वयंसेवकहरूसम्म, साथै प्रशासनिक ढाँचालाई जीटीएको नाम दिएर कोलकाताद्वारा सुनियोजित ढङ्गले अस्थायी अवस्थामा नै राखिएको छ।‘ राजु बिष्टले भने, ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा हामी अस्थायीपनाको यस कुसंस्कृतिलाई ध्वस्त गरेर भारतको संविधानअन्तर्गत स्थायी राजनीतिक समाधान (पीपीएस) सुनिश्चित गर्नेछौँ। टीएमसीले जानिबुझिकन चिया बगान अनि सिन्कोना बगान श्रमिकहरूलाई उनीहरूका पर्जापट्टा अधिकारबाट वञ्चित गरेको छ, अनि उनीहरूको वेतन साह्रै कम्ती राखेको छ। उनीहरूको षड़यन्त्र हाम्रा युवाहरूलाई रोजगारको खोजीमा आफ्नो ठाउँबाट टाढ़ा जान बाध्य गर्ने, अनि रोहिङ्ग्या र अवैध घूसपैठीहरूलाई हाम्रो क्षेत्रमा भित्र्याउने रहेको देखिन्छ। यस्तो कुत्सित षड़यन्त्रबाट हामी सचेत रहनु जरुरी छ।‘

उनले अझ भने, ‘यसको विपरित, प्रधानमन्त्री मोदीले चिया अनि सिन्कोना बगानमा काम गर्ने हाम्रा दाजुभाई-दिदीबैनीहरूलाई मद्दत गर्न चार नयाँ श्रम कानूनहरू– वेतन कानून, सामाजिक सुरक्षा कानून, व्यावसायिक सुरक्षा, स्वास्थ्य एवं कार्यावस्था कानून र औद्योगिक सम्बन्ध कानून ल्याए। यी कानूनले उचित वेतन, उच्चस्तरीय जीवन शैली, अनि चिया बगान र सिन्कोना बगान श्रमिकहरूका लागि उत्कृष्ट सामाजिक सुरक्षाको ग्यारेण्टी दिन्छन्।‘ टीएमसी सरकारले यी कानून लागू गर्न अस्वीकार गरेको उनले बताए। उनले भने, ‘भाजपाले हाम्रा चिया अनि सिन्कोना बगान श्रमिकहरूलाई न्याय दिलाउन यी कानूनहरू लागू गर्नेछ। हाम्रो क्षेत्रका रैथाने जनताको सुरक्षा निम्ति भाजपाले हाम्रा चिया बगान, सिन्कोना बगान, फरेष्ट गाउँ अनि डीआई फण्ड ल्याण्डका बासिन्दाहरूका लागि सबै पुश्तैनी भूमिको पर्जा पट्टा अधिकार सुनिश्चित गर्नेछ।‘
सुखिया पोखरी, पोख्रेबुङ उपत्यका, नागरी उपत्यका, माने भञ्ज्याङ, पर्मागुड़ी, रामजी, सिमाना पुलुङदुङ, बालसन, राङभाङ अनि वरिपरिका क्षेत्रभरि होर्टिकल्चर र फ्लोरिकल्चर लगायत सबै कृषिगत कार्यहरूलाई सशक्त बनाउन फलफूल र सागसब्जीहरूसित सम्बन्धित चुनौतीहरूलाई कम गर्न एउटा सशक्त कोल्ड-चेन नेटवर्क स्थापना गर्ने आफ्नो परिकल्पना रहेको राजु बिष्टले बताए। ‘यसका अतिरिक्त, किसान उत्पादक संगठनहरू र किसान सहकारीहरूको गठनले हाम्रो क्षेत्रका कृषिजन्य उत्पादनहरूको बिक्री-व्यवस्थालाई सशक्त बनाउन सकिन्छ’, उनले भने। उनले अझ भने, ‘हाम्रो क्षेत्रको स्तब्धकारी प्राकृतिक भव्यताको लाभ उठाउँदै हामी ग्रामीण पर्यटन अनि होमस्टेहरूलाई प्रवर्द्धन दिन वचनवद्ध छौँ। व्यापक तालिम एवं क्षमता-निर्माण पहलहरूको माध्यमले हाम्रो लक्ष्य युवाहरूलाई सशक्त बनाउने, अनि यी उद्यमहरूबाट प्राप्त हुने आर्थिक अवसरहरूको फाइदा लिन उनीहरूलाई सक्षम बनाउने रहेको छ।‘
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								



