चुनाउमा सबैको सक्रिय सहभागिता र नि:स्वार्थ योगदानको निम्ति सबैप्रति मुख्यमन्त्रीले गरे आभार व्यक्त

n60180729617136110634230fe53daa0881509176ad3e2781f77bf9ff7da5bb5d236b9847918692b885e621.jpg

गान्तोक:  मुख्यमन्त्री प्रेमसिंह तामाङले ११औं विधानसभा साथै १८औं लोकसभा चुनाउमा सबैको सक्रिय सहभागिता र नि:स्वार्थ योगदानको निम्ति सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले आज बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत राज्यवासीहरूका लागि एक सन्देश जारी गरेका छन्।

मुख्यमन्त्री तामाङले भनेका छन्, ‘भारतको निर्वाचन आयोग, सिक्किमको निर्वाचन आयोग, भारतीय सेनाका अधिकारीगण अनि जवानहरु, राज्य प्रशासन, जिल्ला प्रशासन र सिक्किमको इतिहासमा सबैभन्दा शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्नमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छु। लोकतान्त्रिक प्रक्रियाप्रतिको तपाईंहरुको उत्साह, प्रतिबद्धता र समर्पण साँच्चै नै प्रेरणादायी रहेको छ, जसको स्वर्णिम अनुभुति हामीले गरेका छौं।’

उनले अझ भनेका छन्, ‘यसपटक ४,६६,००० जना मतदाता, १४६ जना विधानसभा आसनका उम्मेदवार र १४ जना लोकसभा आसनका उम्मेदवारले सामूहिक रूपमा हाम्रो लोकतान्त्रिक सिद्धान्तको जग बलियो बनाएको छ। उहाँहरुको अमूल्य सहभागिताको निम्ति सबै उम्मेदवार, विभिन्न पार्टीका नेतृत्वगण, मतदाता, संयोजकगण र सम्बद्ध सबै व्यक्ति-व्यक्तित्वहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।’

उनले पहिलो पटक उत्साह, उमंग अनि जिज्ञासाका साथ मतदानमा सहभागी बन्ने नयाँ मतदाताहरूप्रति पनि आभार प्रकट गरेका छन्। उनले अझ भनेका छन्, ‘मतदान हाम्रो लोकतन्त्रको लागि निर्णायक तत्व हो साथै प्रगति, उन्नति, समृद्धि, विकास र समावेशीतातर्फ हाम्रो सामूहिक प्रयासको प्रतीक हो। चुनावी प्रक्रियामा तपाईंहरुको महत्त्वपूर्ण योगदानले हाम्रो लोकतन्त्रको बल र सिक्किमको भविष्यलाई आकार दिने हाम्रो प्रतिबद्धतालाई जोड दिनका साथै दहृलो टेवा दिएको छ।’

मुख्यमन्त्री तामाङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अनि आफ्नो व्यक्तिगत तर्फबाट सदस्यहरूको अटल समर्पण, समर्थन, अथक परिश्रम अनि अनमोल सहभागिताप्रति पनि हार्दिक कृतज्ञता अनि साधुवाद अर्पण गरेका छन्। उनले राज्यवासीहरूलाई सिक्किमको उज्ज्वल, सुनौलो अनि समृद्ध भविष्यको निर्माणमा हातेमालो गरेर काम गरिरहन विनम्र आग्रह पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement