गान्तोक: राज्यका निवर्तमान मुख्यमन्त्री एवं एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङले पहिलोपल्ट आफैलाई भोट लगाए। यसपालीको ११औं विधानसभा चुनाउमा उनी सोरेङ अनि रिनाक दुईवटा समष्टिबाट खड़ा भएका छन्। आज बिहान उनी गान्तोकबाट सोझै सोरेङ पुगेर आफ्नै निम्ति भोट लगाए। यसअघि उनी आफ्नो निवास सिङलिङ पुगेर आमाकोबाट आशीर्वाद लिएपछि मतदान गरेका हुन्। यस अवधि उनीसँग उनकी धर्मपत्नी श्रीमती शारदा गोले, छोरा अदित्य गोले, एसकेएम प्रवक्ता जेकब खालिङ लगायत अन्य कार्यकर्ताहरू साथमा रहेका थिए।
मतदानपछि पत्रकारहरूसँग कुराकानी गर्दै निवर्तमान मुख्यमन्त्री तामाङले आफैलाई पहिलोपल्ट भोट लगाउन पाएकोमा खुशी व्यक्त गरे। यसपाली सबैभन्दा शान्तिपूर्वक ढंगमा मतदान भएको उनले महसुस गर्दै यसको निम्ति प्रशासनलाई धन्यवाद दिए। मतदाताहरूको उत्साहपूर्ण सहभागितासँगै दोस्रोपल्ट पुनः एसकेएम पार्टी सरकारमा आउनेछ भन्ने निवर्तमान मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरेका छन्।
यसपछि उनी चुम्बुङ क्षेत्रका मतदान केन्द्रको स्थलगत निरीक्षण गरेपछि रिनाक प्रस्थान भए। रिनाक पुगेपछि पनि पत्रकारहरूसँग कुराकानी गर्दै निवर्तमान मुख्यमन्त्री तामाङले पाँच वर्षको अन्तरालमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले जुन काम गऱ्यो त्यसले गर्दा जनताले ३२-मा ३२ वटै विधानसभा आसन अनि एक मात्र लोकसभा आसनमा एसकेएम पार्टीलाई जिताउन जनताले मन बनाएको उनले विश्वास गरे। एक प्रश्नको उत्तर दिँदै उनले एसकेएम पार्टीको जीतसँग भन्दा पनि एसकेएम पार्टीको कामसँग आफू निश्चिन्तामा रहेको अनि जनताले यही काम हेरेर मतदान गर्ने कुरामाथि विश्वास प्रकट गरे। ११औं विधानसभा अनि १८औं लोकसभा चुनाउ शान्तिपूर्ण ढंगमा सम्पन्न भएकोमा उनले प्रशासनप्रति धन्यवाद दिँदै सम्पूर्ण सिक्किमेली जनसमुदायप्रति आभार व्यक्त गरेका छन्। यसरी नै उनले आज रिनाक निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न पोलिङ स्टेशनको पनि निरीक्षण गरे। निरीक्षणको क्रममा उनले पत्रकारहरूसँग कुराकानी गर्दै यसपालीको चुनाउमा विपक्षी दलले एउटा ऱ्यालीसम्म निकाल्न नसकेको बताए। हाल विपक्षी दलले झुटो भविष्यवानी गर्दै चुनाउको परिणाम जारी गरेकोमा उनले दुःख व्यक्त गरे। विपक्षी दलहरूले कुनै मुद्दा नपाएपछि यसप्रकारको हतकाण्डा अप्नाएको उनले पत्रकारहरूलाई जानकारी गराए।