गान्तोक: मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष प्रेमसिंह तामाङले आज बिहान आफ्नो गृह निर्वाचन क्षेत्र सोरेङ च्याखुङमा मतदान गरेपछि रिनाक निर्वाचन क्षेत्रको भ्रमण गरे।
मुख्यमन्त्री तामाङ सोरेङ च्याखुङ र रिनाक निर्वाचन क्षेत्रबाट चुनाउ लडिरहेका छन्।
एसकेएमले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, सिक्किममा लोकतन्त्रको महापर्व विधानसभा अनि एकमात्र लोकसभाको चुनाउ सम्पन्न भएको छ। राज्यका प्रत्येक जनताले मतदानमा उत्साहपूर्वक आफ्नो सहभागीता जनाए। एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहान आफ्नो जन्मथलो सोरेङमा मतदान गरेपछि आफूले उम्मेद्वारिता दिएको अर्को समष्टि रिनाकतर्फ प्रस्थान गरे।
उनले रिनाकमा मतदान गर्न आएका जनतासँग भेट गरे। दुवै समष्टिका प्रत्येक बुथहरूको भ्रमणगरी उनले जनतालाई शान्तिपूर्वक आफ्नो बहुमूल्य मतदान गर्न प्रोत्साहित गरे। एसकेएमले यसपल्टको चुनाउ अहिलेसम्मकै सबैभन्दा शान्तिपूर्ण चुनाउ रहेको दाबी पनि गरेको छ।