शुरु भयो तीन अर्ब लागतमा इन्धन भण्डारणगृह निर्माण प्रक्रिया

IMG-20240419-WA0005

झापा(नेपाल): तीन अर्ब लागतमा भैरहवामा इन्धन भण्डारणगृह निर्माण गर्ने प्रक्रिया शुरु भएको छ। ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा  निर्माण कार्यको शुभारम्भ गरेका छन्। नेपाल आयल निगमले भैरहवाको रोहिणी खोला किनारमा इन्धन भण्डारणगृह निर्माण गर्ने प्रकिया शुरु गरेको हो।  निगमले ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिका बिचमा रहेको १४ बिघा जग्गामा सो भण्डारणगृह निर्माण गर्न लागिएको हो। तीन महिनालाई पुग्ने भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुरूप निगमले भैहवामा भण्डारणगृह निर्माण गर्न पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको हो। पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुरूप लुम्बिनी प्रदेशको भैरहवामा शुरु भएको हो।

पेट्रोलियम भण्डारणगृह निर्माण परियोजना प्रमुख प्रदीप यादवले इन्धन भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुरूप भैरहवामा प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। भण्डारणगृह निर्माण गर्न टेन्डरसमेत आह्वान भइसकेको छ। भण्डारणगृह निर्माण गर्न २० बिघा जग्गा आवश्यक पर्नेमा यसमध्ये अहिले १४ बिघा जग्गा खरिद भइसकेको र बाँकी छ बिघा जग्गा थप खरिद हुनेछ। निगमले बुधबार एक कार्यक्रम आयोजना गरी उक्त जग्गामा भूमि सम्याउने र रिटेनिङ वाल निर्माण गर्ने प्रक्रिया सुरु गरेको छ। रोहिणी खोला किनारमा जग्गा भएकाले खोलाको पानी आउन नदिन अहिले जग्गा सम्याएर दुई मिटर माथि उठाउने (फिलिङ) काम शुरु हुन लागेको छ। यस्तै फिलिङ भइसकेपछि चारैतर्फ दुई मिटर उचाइ भएको कम्पाउन्ड वाल निर्माण गर्न लागिएको छ। खोला निगमको जग्गाको पश्चिममा भएकाले खोलाको पानी आउन नदिन  सो दिशामा तारजाली हालेर दुई मिटर रिटेनिङ वाल निर्माण गर्न लागिएको छ।

यादवका अनुसार रोहिणी खोला किनारमा जग्गा भएकाले खोलाको पानी आउन नदिन अहिले जग्गा सम्याएर दुई मिटर माथि उठाउने (फिलिङ) काम शुरु भएको हो। निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काले रुपन्देहीको रोहिणी नदीको खोलानजिकै प्रतिकट्ठा १० लाख ५३ हजार रुपियाँका दरले १४ बिघा जग्गा २०७५ सालमा खरिद गरेका थिए। सो जग्गा खरिद प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक खड्काले २२ करोड ५५ लाख रुपियाँ भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको थियो। निगमले ओमसतिया गाउँपालिका–५ र रोहिणी गाउँपालिका–३ को सिमानामा रहेको १४.७ बिघा जग्गा खरिद गरेको थियो। यो भण्डारणगृहमा दुई हजार एक सय किलोलिटरका तीन वटा डिजेलका ट्याङ्की, एक हजार छ सय किलोलिटरका दुई वटा पेट्रोलका ट्याङ्की र ७० किलोलिटर क्षमताका तीन वटा ट्याङ्की निर्माण हुनेछन्।

निगमका अनुसार खोला किनारमा भण्डारणगृह निर्माण गर्न मिल्ने/नमिल्ने विषयमा हाइड्रोलोजिक विज्ञलाई अध्ययन गर्न लगाइएको थियो। काठमाडौँ युनिभर्सिटीले पछिल्लो ५० वर्षका खोला, कटान र पानीको बहावका बिषयमा अध्ययन गरी प्रतिवेदन दिएको थियो। एक हप्तालाई पुग्ने भण्डारण क्षमता रहेकामा नयाँ भण्डारणगृह निर्माण भएपछि २० देखि २५ दिनलाई पुग्ने निगमले जनाएको छ। निगमले खरिद गरेको १३.५ बिघा जग्गामा नयाँ भण्डारणगृह निर्माण गर्न लागिएको हो। यो भण्डारणले लुम्बिनी प्रदेशको २० दिनको माग पूरा गर्ने छ। कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसादले परियोजना निर्माणमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता रहेको बताए। उनले भने , ‘निगमले स्थानीयको चासो सम्बोधन गरिदिनु पर्छ, निगमलाई आवश्यक पर्ने कुरामा स्थानीय सरकारका तर्फबाट सहयोग गर्न तयार छौँ।‘

ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमारले स्थानीय जनतालाई रोजगारी दिन तथा यस क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे। निगमका प्रबन्धक रामहरि निरौलाले बस्तीभन्दा टाढा १४ बिघा जग्गामा अब पेट्रोलियम भण्डारणगृह निर्माणको काम अघि बढाइने बताएका छन्। ‘हाल भएका भण्डारणगृह साँघुरा भइसके। १४/१५ दिनलाई भन्दा पुग्दैन। पेट्रोलियम पदार्थको खपत बढिसक्यो’, उनले भने, ‘हामीलाई नयाँ भण्डारणगृह आवश्यक भइसक्यो।‘

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *