११औं सिक्किम विधानसभा अनि १८औं लोकसभा चुनाउ भोलि सम्पन्न हुने

IMG-20240418-WA0221.jpg

राज्यका ३२ आसनबाट १४६ अनि एक मात्र लोकसभा आसनबाट १४ जना उम्मेदवार चुनाउ मैदानमा

गान्तोक: भोलि राज्यको ३२ वटा विधानसभा अनि एक मात्र लोकसभा आसनको निम्ति मतदान हुनेछ। यसको निम्ति चुनाउ आयोगले आफ्नो तयारी लगभग पूरा गरिसकेको छ। राज्यको ३२ विधानसभामा ६ वटा राजनीतिक पार्टीका उम्मेदवारहरू अनि ८ स्वतन्त्र उम्मेदवार गरेर मोठ १४६ उम्मेदवार चुनाउको मैदानमा उत्रिएका छन्। यसमध्ये १४ जना महिला उम्मेदवार रहेका छन्। यसरी नै एकमात्र लोकसभा आसनको निम्ति १४ जना उम्मेदवार खड़ा भएका छन्। राज्यका निवर्तमान मुख्यमन्त्री एवं सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष प्रेमसिंह तामाङ सोरेङ अनि रिनाक दुइवटा समष्टिबाट चुनाउ मैदानमा खड़ा भएका छन् भने यसरी नै पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङ पनि पोकलोक कामराङ अनि नाम्चेबुङ दुईवटा समष्टिबाट खड़ा भएका छन्। एसकेएम अनि एसडीएफ पार्टीले राज्यको ३२ वटै विधानसभा अनि एउटा लोकसभाबाट चुनाउ मैदानमा उम्मेदवार खड़ा गरेको छ। यसरी नै भाजपाबाट ३१ जना, सिटिजन एक्सन पार्टीबाट ३० जना, सिक्किम रिपब्लिकन पार्टीबाट १ जना, कंग्रेसबाट १२ जना अनि ८ जना स्वतन्त्र उम्मेदवार चुनाउ मैदानमा उत्रिएका छन्।

भोलि राज्यका ५७३ मतदान केन्द्रमा मतदान हुनेछ, जसमध्ये शहरी क्षेत्रमा ८८ अनि ग्रामीण क्षेत्रमा ४८५ रहेको छ। राज्यमा मोठ ४ लाख ६६ हजार ४३१ मतदाताहरू छन् भने २ हजार ५०२ जना सर्विस भोटरहरूले अगावै ब्यालेट बक्समार्फत मतदान गरिसकेका छन्। भोलि ४ लाख ६३ हजार ९२९ मतदाताहरूले विधानसभाका १४६ अनि लोकसभाका १४ उम्मेदवारहरूको भाग्य ब्यालेट बक्समा बन्द गर्नेछन्। यीमध्ये २ लाख ३२ हजार ३८१ पुरुष मतदाता रहेका छन् भने २ लाख ३१ हजार ५४५ महिला मतदाता रहेका छन्।

चुनाउ आयोगबाट प्राप्त जानकारी अनुसार, राज्यमा १८ देखि ३९ वर्षसम्म उमेर पुगेका मतदाताहरूको संख्या २ लाख ५८ हजार ३८२ रहेको छ भने ४० देखि ५९ वर्ष उमेरका मतदाताहरूको संख्या १ लाख ४८ हजार १५६ रहेको छ। यसरी नै ६० देखि ६९ वर्ष उमेरका मतदाताहरूको संख्या ३५ हजार २६ रहेको छ भने ७० देखि ७९ वर्ष पुगेकाहरू मतदाताहरूको संख्या १६ हजार २१० रहेको छ। ३ हजार ६८२ मतदाता ८० देखि ८४ वर्ष उमेरकाहरू छन् भने २ हजार ४७३ मतदाता ८५ वर्षभन्दा अधिक उमेर पुगेकाहरू छन्। जानकारी गराइन्छ, भारतीय चुनाउ आयोगले पहिलोपल्ट ८५ वर्षभन्दा अधिक उमेर पुगेका वरिष्ठ नागरिकहरू अनि ४० प्रतिशतभन्दा अधिक दिव्याङ्ग भएकाहरूलाई ब्यालेट बक्समार्फत मतदान गर्ने व्यवस्था गरिएको थियो। यस वर्गमा पर्ने राज्यका मतदाताहरूले अगावै ब्यालेट बक्समार्फत मतदान गरिसकेका छन्।भोलि बिहान सातबजीदेखि मतदान शुरू भएर बेलुकी पाँचबजी समापन हुनेछ। मतदान सकेपछि सबै इभीएमहरू तोकिएको स्थानमा लगेर स्ट्रङ रूममा राखिने छ भने आगामी २ जूनको दिन सबै राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा मात्र स्ट्रङ रूम खोलिनेछ। इभीएम राखिएको सबै स्ट्रङ रूमहरूमा चारैतिर सीसी क्यामेरा जडान गर्नको साथै सुरक्षा बल पनि तैनाथ गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement