हर घर तिरङ्गा अभियानलाई लिएर बाइक ऱ्यालीमुख्यमन्त्री तामाङद्वारा सय बाइकर्सलाई गरे फ्ल्याग अफ्

IMG-20220805-WA0204.jpg

गान्तोक: आजादीको अमृत महोत्सवअन्तर्गत आज बिहान यहाँको मिन्तोकगाङअघिदेखि पाकिम जिल्ला प्रशासनिक केन्द्रसम्म बाइक ऱ्याली आयोजन गरियो। राज्यको यातायात विभागद्वारा आयोजित यस बाइक ऱ्यालीलाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले हरियो झण्डा देखाए। यसअघि मुख्यमन्त्री तामाङले बाइकर्सहरूलाई खदार्पण गरी ऱ्यालीको निम्ति शुभकामना दिए। ५०० भन्दा अधिक बाइकर्सहरूको सहभागिता रहेको यस ऱ्यालीमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको विशेष सहभागिता रहेको थियो। उनीसँगै राज्यभरिका ७ भन्दा अधिक बाइकर्स क्लबका सदस्यहरू, सिक्किम पुलिसका जवानहरू साथै महिला पुलिसकर्मीहरूले भाग लिएका थिए। पाकिम जिल्ला प्रशासनिक केन्द्र पुगेपछि त्यहाँ ती बाइकर्सहरूलाई विभागद्वारा प्रमाण-पत्र वितरण गरियो। ऱ्यालीमा भाग लिने बाइकर्सहरूलाई पाकिम जिल्ला प्रशासनिक केन्द्रमा नाम्चेबुङ क्षेत्रका विधायक एम प्रसाद शर्मा, रिनाक क्षेत्रका विधायक विष्णुकुमार खतिवड़ा, पाकिमका जिल्लापाल टाशी छोपेल लेप्चा अनि आम नागरिकहरूले स्वागत जनाए।

कार्यक्रमबारे बोल्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले आजादीको अमृत महोत्सवअन्तर्गत सबै सिक्किमेली जनसमुदायलाई सन्देश दिन ऱ्याली आयोजन गरिएको बताए। देशव्यापी रूपमा १३ देखि १५ अगस्तसम्म हर घर तिरंगा कार्यक्रम आयोजना गरिने भएपनि सिक्किम राज्यमा यो १ अगस्तदेखि नै शुरु गरिएको उनले थप जानकारी गराए। आजको बाइक ऱ्यालीमा देशभक्ति भाव प्रकट गर्न राज्यभरिबाट आएका बाइकर्सहरूलाई मुख्यमन्त्री तामाङले धन्यवाद दिए। आज आयोजित बाइक ऱ्यालीमा दुई जिल्लालाई समावेश गरिनेछ जसमा एउटा जिल्लाबाट ऱ्याली शुरु गरेर अर्को जिल्लामा समाप्त गरिनेछ। आज गान्तोक जिल्लाबाट शुरु गरिएको बाइक ऱ्याली पाकिम जिल्ला पुगेर समाप्त भयो। यसरी नै आगामी १५ अगस्तसम्म नाम्ची जिल्लादेखि सोरेङ जिल्ला, सोरेङदेखि गेजिङ जिल्लासम्म बाइक ऱ्याली आयोजन गरिने मुख्यमन्त्री तामाङले अवगत गराए। हाल राज्यव्यापी हर घर तिरंगा अभियान सफल बनाउन सबै सिक्किमेली जनसमुदायले पहल गरिरहेको उल्लेख गरे।

बाइक ऱ्यालीलाई हरियो झण्डा देखाएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङ दुईवटा बैठकमा भाग लिन दिल्ली प्रस्थान भएका छन्। उनले भोलि बेलुकी प्रधानमन्त्री नरेन्द्र मोदीसँग आजादीका अमृत महोत्सव अनि हर घर तिरंगाबारे बैठक गर्नेछन् भने पर्सी नीति आयोगको बैठकमा सहभागिता जनाउनेछन्। नीति आयोगको बैठकमा नयाँ शिक्षा नीति, कृषि विषयबारे चर्चा हुने अनि त्यसपछि सिक्किम राज्यबाट आफ्नो पक्ष राखिने मुख्यमन्त्री तामाङले अवगत गराए।

कार्यक्रमबारे बोल्दै यातायात विभागीय मन्त्री सञ्जीत खरेलले हर घर तिरंगा कार्यक्रमलाई बढ़ावा दिँदै यसरी बाइक ऱ्यालीहरू आयोजना गरेर सिक्किम राज्यले देशभक्ति प्रस्तुत गरेको बताए। देशले हामीलाई धेरै कुरा दिएको छ यसर्थ हामीले पनि देशको लागि धेरै कुरा गर्नुपर्ने उनले विचार पोखे।

सिक्किम एक सानो राज्य भएपनि राष्ट्रिय कार्यक्रमहरूलाई उत्साहपूर्वक पालन गरेर देश-विदेशमा सिक्किमको पहिचान पुऱ्याउने ऱ्यालीको मुख्य उद्देश्य रहेको मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले जानकारी गराए। देशव्यापी १३ अगस्तदेखि शुरु हुने हर घर तिरंगा सिक्किम राज्यमा १ अगस्तदेखि नै शुरु भइसकेको उल्लेख गर्दै सिक्किम राज्य सधैं देशको मूलधारासँग बाँधिएको उनले विचार पोखे।

पाकिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै विधायक एमप्रसाद शर्माले ऱ्यालीको निम्ति नवनिर्मित जिल्ला चयन गरेकोमा मुख्यमन्त्रीप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए। हर घर तिरङ्गाको सन्देशसहित ऱ्यालीमा भाग लिने सम्पूर्णलाई पनि उनले पाकिम जिल्लाको पाँचैवटा निर्वाचन क्षेत्रको तर्फबाट धन्यवाद दिए।

आजको कार्यक्रममा विधानसभा अध्यक्ष एलबी दास, मन्त्रीगण कुङ्गा निमा लेप्चा, सामडुप लेप्चा, सञ्जीत खरेल, अरुण उप्रेती, विधायकगण लगायत अन्यको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *