यो वसन्त ऋतुमा ६१२ जनाले हिमाल आरोहण अनुमति पाए

Himal-1

झापा  (नेपाल): यो वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति पाएका छन्। पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा १३४ महिला र ४७८ जना पुरुष छन्। विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथासहित विभिन्न २३ हिमाल आरोहणका लागि अनुमति लिएकामध्ये सबैभन्दा बढी सगरमाथा आरोहण गर्न ४६ देशका २७४ आरोहीले अनुमति लिएका  छन्। उनले भने, ‘आरोहणको सिजन शुरु भएसँगै अनुमति लिने र धमाधम आधार शिविरतर्फ जाने आरोहीको संख्या बढ्दै गएको छ। वसन्तयाममा सगरमाथा आरोहणका लागि उपयुक्त मानिने भएकाले अनुमति लिनेमा सबैभन्दा धेरै सगरमाथातर्फ नै छन्।‘

अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका थिए। उनले यो पटक चीनतर्फको मोहडाबाट समेत सगरमाथा आरोहण खुला गरिएकाले केही आरोही घट्न सक्ने आकलन गरेका छन्। यस पटक सगरमाथा आरोहणका लागि २२१ पुरुष र ५३ जना महिलाले अनुमति लिएको उनले बताए। सगरमाथा आरोहणका लागि यस पटक सबैभन्दा बढी अमेरिकाबाट ५९, चीनबाट ३८, जापानबाट १९, भारतबाट १७, रसियाबाट १६ र बेलायतबाट १५ जनाले अनुमति पाएका छन्। सगरमाथापछि सबैभन्दा बढी अमादब्लम आरोहणका लागि सात समूहका ६३ पुरुष र १७ महिला गरी ८० जनाले अनुमति लिएका छन्। त्यसै गरी मकालु पहिलोका लागि ४५, लोत्सेका लागि ४०, अन्नपूर्ण पहिलोका लागि २५ जनाले आरोहण अनुमति पाएका छन्। सगरमाथा आरोहण शुल्कबापत मात्रै सरकारलाई ३९ करोड १२ लाख ८५ हजार ८८७ रुपियाँ हिमाली दस्तुर (राजस्व) प्राप्त भएको छ। त्यस्तै २३ वटै हिमालमा दिएको अनुमति स्वरुप ४३ करोड ७८ लाख ७५ हजार ५९ रुपियाँ राजस्व सङ्कलन भएको छ। आरोहणको सिजन शुरु भएसँगै सगरमाथा, अमादब्लम, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरि, ल्होत्से, अमादब्लम, जुगललगायत हिमालका आधार शिविर आरोहीले भरिभराउ हुन थालेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *