सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई सोनादा पचेङ समष्टीको भागोप्रमो समर्थकहरूले सोनादामा भव्य स्वागत जनाएका छन्। खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिबाट शुरु भएको गोपाल लामाको चुनावी जनसम्पर्क अभियान टुंग, दिलराम हुँदै सोनादा पुगेको थियो। सोनादाको शनि मन्दिर परिसरमा भागोप्रमो समर्थकहरूले गोपाल लामालाई स्वागत गरेर सोनादा बजार परिक्रमा गर्दै पेट्रोल पम्प हुँदै लालमाट्टीसम्म पुगेर चुनावी पथ सभामा परिणत भएको छ। गोपाल लामा जिन्दावाद र अनित थापा जिन्दावादको नारासहित भागोप्रमो समर्थकहरूले प्रार्थी गोपाल लामालाई पैदल यात्रा गराउँदै सोनादा बजार परिक्रमा गराएका थिए। लालमाट्टीमा आयोजित उक्त चुनावी सभालाई प्रार्थी गोपाल, लामा, ट्रेड युनियनको केन्द्रीय सभापति जेबी तामाङ, सागर पोखरेल आदिले सम्बोधन गरेका थिए। वक्ताहरूले भाजपाले गोर्खाहरूलाई केही नदिएको तर केवल ढाँट्ने काम मात्र गरेको भन्दै यसपाली भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई जिताउने आह्वान् गरेका थिए। गोपाल लामा पहाड़कै भूमिपुत्र रहेको र एक नम्बर बटम थिचेर भोट दिने आह्वान् गरेका थिए। उक्त चुनावी सभालाई सञ्चालन समष्टी सभासद अनोश थापाले गरेका थिए। सोनादामा आयोजित गोपाल लामाको चुनावी जनसम्पर्क अभियानमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा आफै पनि उपस्थित रहेका थिए। उनीसितै जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, पूर्व सांसद शान्ता छेत्री, सोनादा पचेङ समष्टीको सभासद अनोश थापा, समष्टी सचिव सुकदेव राई, चुनावी रैली र पथ सभामा भागोप्रमोको खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, केन्द्रीय सदस्य सुमन बम्जन, सुखे खण्डको उप सभापति मनखुस राई, पञ्चायत समिति सदस्य बबिन्द्र राई लगायत अन्यहरू उपस्थित रहेका थिए। गोपाल लामाको पक्षमा आयोजित भागोप्रमोको चुनावी पैदल यात्रा र चुनावी पथ सभा विषयमा पत्रकारहरूसित कुराकानी सोनादा पचेङ समष्टीको सभासद अनोश थापाले आज भागोप्रमो समर्थकहरूले प्रार्थी गोपाल लामालाई सोनादा पचेङ समष्टीको तर्फबाट स्वागत गर्दै सोनादा बजार परिक्रमा गराइएको जानकारी गराएका छन्। उनले यसपाली गोपाल लामाले सोनादा पचेङ समष्टीबाट पूर्ण रूपले जित्ने बताउँदै सोनादाको हरेक बुथमा गोपाल लामाले जीत हाँसिल गर्ने दाबी समेत गरेका छन्। उनले सोनादा पचेङ समष्टीमा अहिले विकासको मूल फुटेको र यसपाली अनित थापाको नेतृत्वमा आफुहरूले धेरै विकासमूलक कार्यहरू गरेकोले आफुहरू यस समष्टीमा जीतप्रति पूर्ण आशा रहेको बताएका छन्।