गान्तोक: गान्तोक जिल्ला अन्तर्गत ९ वटै विधानसभा समष्टि अनि एउटा लोकसभा समष्टिका सबै राजनीतिक दलहरूका अनि स्वतन्त्र उम्मेदवारहरूको तेस्रो खाता समायोजन बैठक हिजो यहाँको जिल्ला प्रशासनिक केन्द्रको जिल्ला भवनमा सम्पन्न भयो। व्यय पर्यवेक्षक एस. सुन्दरेसन, ०१-सिक्किम संसदीय निर्वाचन क्षेत्रका व्यय पर्यवेक्षक जे प्रेमानन्द अनि विधानसभा समष्टिहरूका व्यय पर्यवेक्षक प्रसोन काब्राको उपस्थितिमा सम्पन्न बैठकमा व्यय अनुगमनको निम्ति नियुक्त भएका नोडल अधिकारी, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरू अनि सम्बन्धित मतदान अधिकारीहरूको उपस्थिति रहेको थियो। विशेष गरी उम्मेदवार र राजनीतिक दलहरूले कोषको प्रयोगमा चुनाउ अभियानको वित्तपोषणमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नको यो प्रक्रिया आवश्यक रहन्छ। व्यय समायोजनमा उम्मेदवारहरूको वित्तीय रेकर्डको गहन समीक्षा गरिन्छ। खर्च कानुनी अनि नैतिक मापदण्डलाई अनुपालन गर्दै गरिएको सत्यापित गर्न व्यय समायोजनमा रसिदहरू, चलान अनि ब्याङ्क विवरण आदिबारे पर्यवेक्षण गरिन्छ। व्यय समायोजन प्रक्रियाको उद्देश्य उम्मेदवारहरूद्वारा बताइएको राशि अनि उनको वास्तविक व्ययमाझ कुनै पनि विसंगति चिह्नित गर्नु रहन्छ। निष्पक्ष अनि पारदर्शी चुनाउ सुनिश्चित गर्न साथै उम्मेदवारहरूलाई उनीहरूको खर्चको निम्ति जिम्मेवार ठहर गर्दै लोकतान्त्रिक प्रणालीको अखण्डतालाई यथावत राख्न व्यय समायोजन प्रक्रिया महत्वपूर्ण रहेको व्यय पर्यवेक्षकमध्ये एकले बताएका छन्।