रिनाक: रिनाक निवासी स्वतन्त्र सेनानी बन्दे पोखरेल ऊर्फ त्रिलोचन पोखरेलको अमूल्य योगदानको उच्च कदर गर्दै रिनाकमा सालिग निर्माण गरिने अनि बन्दे पोखरेल फेलोशिप स्किम शुरु गर्ने राज्यका निवर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले आज घोषणा गरे। सोरेङ अनि रिनाक दुइवटा समष्टिबाट एसकेएम पार्टीका उम्मेदवारको रूपमा विधानसभा चुनाउमा खड़ा भएका तामाङले रिनाक भ्रमण अवधि यो घोषणा गरेका हुन्।
जानकारी गराइन्छ, रिनाकको तारेथाङ बस्तीमा जन्मिएका स्वाधीनता संग्रामका अनसङ् सिक्किमे स्वतन्त्रता सेनानी त्रिलोचन पोखरेल, त्यसताक बन्दे पोखरेल र गान्धी पोखरेलको नामले लोकप्रिय थिए। महात्मा गान्धीका निकट सहयोगीको रूपमा उनले असहयोग आन्दोलन र भारत छोड़ आन्दोलनमा अमूल्य योगदान पुऱ्याएका थिए। योसँगै कहिलेकहीं सिक्किम आउँदा उनले रिनाक, रंगेली, पाकिम र रम्फूतिर चर्खामा धागो कातेर मानिसहरूमा आत्मनिर्भरता र स्वदेशी भावनाको बीजारोप्ण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। २७ जनवरी १९६९-मा बिहारमा उनको निधन भएको थियो। १७ अगस्त २०२१-को दिन रिनाकमा लगभग ७ हजार ५०९ फीट अनि ७५ किलोग्राम ओजनको वृहत् राष्ट्रिय ध्वज उत्तोलन गरिएको थियो भने सो स्थललाई अहिले पनि बन्दे पोखरेल पोइण्ट भनिन्छ। बन्दे पोखरेलमाथि केन्द्र सरकारले विशेष डाक आवरण पनि जारी गरिसकेको छ।