युएईका धेरै क्षेत्रमा सोमबार रातिदेखि मंगलबार बिहानसम्म भारी वर्षा जारी रह्योl भारी वर्षापछि दुबईमा बाढीको अवस्था सिर्जना भएको छ। दुबईका सडक, घर र मलहरू जलमग्न भएका छन्। भारी वर्षाको बीचमा अधिकारीहरूले चेतावनी जारी गरेका छन्। राष्ट्रिय मौसम विज्ञान केन्द्रले देशका धेरै क्षेत्रमा रेड अलर्ट जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ। बुधबार साँझ ६ बजेसम्म अलर्ट जारी गरिएको छ। दुबई बाहेक ओमानमा पनि भारी वर्षाले क्षति पुर्याएको छ। वर्षाका कारण १८ जनाको मृत्यु भएको छ। यसबाहेक अबुधाबी र अल ऐन जस्ता शहरमा भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। धेरै ठूला राजमार्ग र विमानस्थल डुबानमा परेकाले हवाई यातायात नराम्ररी प्रभावित भएको छ।
युएईका सञ्चारमाध्यमका अनुसार राष्ट्रिय मौसम विज्ञान केन्द्रले बुधबारसम्म दुबई, अबु धाबी र शारजाहलगायत धेरै क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। राष्ट्रिय मौसम विज्ञान केन्द्रमा कार्यरत अहमद हबिबले भने, ‘दुबई, अबुधाबी, शारजाह र इमिरेट्सका अन्य ठाउँहरूमा भारी वर्षा मात्रै होइन असिना पनि पर्ने सम्भावना छ।‘ बाढीको प्रकोप क्षेत्रबाट टाढा सुरक्षित र उच्च स्थानमा सवारीसाधन पार्क गर्न सर्वसाधारणलाई सुझाव दिइएको छ। वर्षाका कारण मानिसहरूलाई मस्जिदको सट्टा घरमै नमाज पढ्न आग्रह गरिएको छ। अत्यावश्यक पर्दा मात्रै घरबाहिर निस्कन अधिकारीहरुले सुझाव दिएका छन्। भारी वर्षा र हावाहुरीका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पानी जमेको हुनाले ५० भन्दा बढी उडान पनि रद्द भएका छन्। दुबई विमानस्थलका प्रवक्ताले यो समस्या गम्भीर आँधीका कारण भएको तर अहिले रिकभरी मोडमा रहेको बताए। वर्षाका कारण दुबई मेट्रोको रेड लाइन सेवा अवरुद्ध भएको छ। धेरै मेट्रो स्टेशनहरू डुबानमा परेका छन्। दुबईबाट अबुधाबी, शारजाह र अजमानका लागि बस सेवा पनि रोकिएको छ। अवस्था यस्तो बन्यो कि ठूला सपिङ सेन्टर, दुबई मल र इमिरेट्सको मल पनि जलमग्न भए। युए,ई एक मरुभूमि देश हो जहाँ वर्षा एक असामान्य घटना हो। यसैबीच भारी वर्षाका कारण युएईभरका विद्यालयहरु बन्द भएका छन्। हावाहुरीसँगै असिना पानी पर्ने सम्भावना रहेको छ। युएईका केही क्षेत्रहरूमा २४ घण्टाको अवधिमा ८० मिलिमिटर (३.२ इन्च) भन्दा बढी वर्षा भएको छ, जुन वार्षिक औसतभन्दा बढी हो।