यसपाली जातीय भोटको नाममा पहाड़मा व्यापार गरिएको छ: अनित थापा
खरसाङ: दार्जीलिङ संसदीय सिटको लागि लोकसभा चुनावमा भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामाको पक्षमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आज खरसाङमा शक्ति प्रदर्शन गर्दै चुनावी रैली र चुनावी सभाको आयोजना गरेको छ। प्रार्थी गोपाल लामाको चुनावी जनसम्पर्क अभियान आज सुकनादेखि शुरु भएर तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरू हुँदै खरसाङ आईपुगेको थियो। खरसाङको मोटर स्ट्याण्डमा भागोप्रमोको तीनवटा समष्टीहरू क्रमैले खरसाङ गिध्द पहाड़, खरसाङ चिमनी देवराली र लङ्भ्यु अम्बटे पंखाबारी समष्टि साथै खरसाङ टाउन कमिटीलाई लिएर सम्पन्न गरिएको थियो। उक्त चुनावी सभालाई भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले सम्बोधन गर्दै यसपाली पहिले कुल देवतालाई खुशी पार्नुपर्छ अनि त्यसपछि मूल देवतालाई खुशी पार्नुपर्छ अनि भविष्यमा गएर हाम्रो मांगलाई उनीहरूले केन्द्रमा भनिदिनु पनि सक्छ भनी बताए। उनले यसपाली जातीय भोटलाई पहाड़मा व्यापार गरेको र गोर्खाल्याण्डको नाममा व्यापार गरिएको आरोप लगाएका छन्। अनित थापाले भने, विश्वास गर्नु हवस म टुंगोमा पुराउनेछु। म तपाईहरूलाई खुशी पार्नेछु। तपाईहरूले दिएको मायाले गर्दा मैले लगातार रूपमा काम पनि गरिरहेको छु। यसपाली बन्दना राई र बीपी बजगाईले बरू व्यापार गरेनन् तर पहाड़को अरू पार्टीहरू र नेताले व्यापार गरेको छ। गोपाल लामालाई जिताउनु भनेको पहाड़को जीत हुनु हो। गोपाल लामा खरसाङकै सुपुत्र हुन्। उनी खरसाङको आईडल हुन्। उनी सजिलो, साधारण र शिक्षित मानिस हुन्। गोपाल लामालाई हामीले बोल्नु ल्याएको होइन तर काम गर्नु ल्याएको हो। गोपाल लामाले बोल्दैन तर काम गरेर देखाउनु हुन्छ। उनी कम बोल्छन् तर कलम चलाउँछन्। उनले गोर्खाको आईडेन्टिटीलाई पनि अघि लानु सक्नु हुन्छ। यो भोट गोपाल लामालाई जिताउनु मात्र होइन तर अनित थापालाई पनि जिताउनु हो।’
भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले अघि भने, यसपालीको भोट मिस गर्नु हुँदैन। यसपाली पहाड़मा नयाँ इतिहास लेख्नुपर्छ। पहाड़को लागि गोपाल लामाले नयाँ इतिहास कोर्नु हुनेछ।’

अनित थापाले खरसाङको व्यापारीहरूलाई सम्बोधन गर्दै यो केन्द्रको भोट भनेर हुँदैन तर यस भोट महत्वपूर्ण छ बुझ्नुपर्छ भनी बताए। चुनावी सभालाई सम्बोधन गर्दै प्रार्थी गोपाल लामाले भने, म यस्तो गर्छु उस्तो गर्छु भनेर भन्दिन तर व्यवहारिक रूपमा कार्य गर्ने मानिस हुँ। सिलगढीका विभिन्न समुदायका मानिसहरूले मलाई जिताउन सहयोग गरिरहेका छन् भने पहाड़का जनता पनि मेरो पक्षमा अघि आउनेछन् भनी विश्वास गरेको छु।’ उनले अघि भने, संसदमा निर्वाचित भएर गएको खण्डमा जीटीए क्षेत्र र पहाडको उन्नतिको लागि प्रशस्त काम गर्नेछु। यसपाली गोर्खाहरू हार्नु हुँदैन।’
खरसाङको चुनावी सभालाई भागोप्रमो केन्द्रीय उपाध्यक्ष एंव सभासद प्रमोस्कर ब्लोन, केन्द्रीय सदस्य समीरदीप ब्लोन, सागर पोख्रेल, बलराम छेत्री आदिले पनि सम्बोधन गरेका थिए। उक्त चुनावी सभापछि प्रार्थी गोपाल लामाको समर्थनमा भागोप्रमोले खरसाङमा शक्ति प्रदर्शन गर्दै चुनावी रैलीको आयोजना गरेको थियो। उक्त रैली खरसाङको मोटर स्ट्याण्डबाट शुरु भएर हिलकार्ट रोड हुँदै अस्पताल मोड़बाट वर्ध्दमान रोड भएर मोटर स्ट्याण्डमा पुन: आएर समाप्त भएको थियो। नौमती बाजाको साथमा निकालिएको उक्त चुनावी रैलीमा प्रार्थी गोपाल लामाको साथमा पूर्व सांसद शान्ता छेत्री, सभासदहरू, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान लगायत अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए। उक्त रैलीपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एंव सभासद प्रणाम रसाईलीले यसपाली प्रार्थी गोपाल लामाको जीत निश्चित रहेको दाबी गरेका छन्। उनले आजको चुनावी सभा र रैलीमा उपस्थित तीनवटै समष्टीहरू र खरसाङ टाउन कमिटीको प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्।









