दुईवटा निर्वाचन क्षेत्रबाट आफ्नो जित सुनिश्चित छः प्रेम सिह तामाङ
गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने विधानसभा चुनाउमा ३२-मा ३२ वटै विधानसभा समष्टि अनि एक मात्र लोकसभा आसनमा एसकेएम पार्टीको जीत सिक्किमेली जनसमुदायले सुनिश्चित गरिसकेको पार्टी अध्यक्ष एवं निवर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले आज रिनाकमा आयोजित चुनाउ प्रचार कार्यक्रम अवधि विश्वास व्यक्त गरे। सोरेङ अनि रिनाक दुईवटा समष्टिबाट चुनाउमा खड़ा भएका एसकेएम अध्यक्ष पीएस गोलेले दुइवटै समष्टिबाट आफ्नो जीत जनताले सुनिश्चित गरिसकेको उल्लेख गर्दै सोरेङ वा रिनाक कुन समष्टिवासीले अधिक मतले जिताउने हुन् भन्ने उत्सुकता व्यक्त गरे। राम नवमीको दिन रिनाक पुगेका एसकेएम अध्यक्ष पीएस गोलेले रिनाकमा भव्य राम मन्दिर निर्माण गर्ने संकल्प गरे। रिनाक बुद्धिजीवीहरूको समष्टि रहेको उल्लेख गर्दै रिनाकलाई शैक्षिक केन्द्रको रूपमा विकसित गर्न सकिने उनले विचार पोखे। पाकिम अनि सोरेङ दुईवटा नयाँ जिल्लाको दुई समष्टिबाट खड़ा भएका एसकेएम उम्मेदवार एवं निवर्तमान मुख्यमन्त्री तामाङले यी दुई नयाँ जिल्लालाई विकासको क्रममा तीव्रताको साथ अघि बढ़ाउन आफू आइपुगेको कटिबद्धता व्यक्त गरे। अहिले पनि जातको राजनीति गर्नेहरूलाई कटाक्ष गर्दै उनले १९९३-जस्तो सिक्किम अहिले नरहेको मन्तव्य पोखे। यस्ता जातिवादी तत्त्वहरूलाई जनताले जरैबाट उखेल्ने मन बनाइसकेको उनले विश्वास व्यक्त गरे।

एसकेएम पार्टीले कुनै जात, धर्मलाई बिगार्ने काम गर्दैन अनि सबै जात, धर्मलाई सम्मान गर्ने पार्टी एसकेएम रहेको उनले स्पष्ट पारे। २०२६-मा पुनर्सीमाङ्कन हुँदा राज्यमा हाल रहेको ३२ वटा विधानसभा आसन बढ़ेर ४ पुग्ने एसकेएम अध्यक्ष तामाङले अवगत गराए। योसँगै राज्यका जनजाति हुनबाट छुटेका १२ जात-गोष्ठीलाई २०२६-भन्दा अघि जनजातिको मान्यता दिलाउने निवर्तमान मुख्यमन्त्री तामाङले वचन दिए।