लगानी सम्मेलनको  कार्यतालिका सार्वानिक

IMG-20240416-WA0012

झापा (नेपाल): यही २८-२९ अप्रेल (वैशाख १६ र १७ गते) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक भएको छ। लगानी बोर्डको कार्यालयले दिएको  सूचना अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन्। ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’ सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ। दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन) हुने बोर्डको कार्यालयले जनाएको छ। दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ। त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका निम्ति कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खला बिषयमा छलफल हुनेछ। तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रको विषयमा छलफल गरिने कार्यक्रम रहेको छ।

‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन काठमाडौंस्थित सोल्टी होटलमा आयोजना गर्ने गरी स्थान तय भइसकेको छ। सम्मेलनका निम्ति एक सय ५० हाराहारी आयोजना ‘सोकेस’मा लैजाने तयारी छ। यसअघि लगानी बोर्डले एक सय २५ वटा आयोजना ‘सोकेस’मा लैजाने तयारी गरिरहेकोमा अहिले निजी क्षेत्र, प्रदेश र स्थानीय तहकासमेत केही आयोजना थपिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए।

‘निजी क्षेत्र, प्रदेश र स्थानीय तहबाट सोकेसका निम्ति प्रस्ताव गरिएका आयोजनासमेत गरेर एक सय ५० हाराहारी पुगेका छन्। निजी क्षेत्र र स्थानीय तहका आयोजनाका बिषयमा जानकारी दिने छुट्टै कक्ष र उनिहरुकै जनशक्ति परिचालन गरिनेछ’, प्रवक्ता उपाध्यायले भने, ‘कुन प्रदर्शनी कक्षमा कस्ता आयोजना राख्ने, त्यसको व्यवस्थापन कसरी गर्ने र लगानीकर्तालाई आयोजनाका विषयमा अधिकतम जानकारी कसरी दिन सकिन्छ भनेर पूर्वतयारी चलिरहेको छ।‘ लगानी सम्मेलन स्थलमा २२ देखि २५ वटा कक्ष रहनेगरी तयारी भइरहेको उनको भनाइ छ। सम्मेलनका निम्ति अब १२ दिन मात्रै बाँकी छ। सम्मेलन स्थलको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्वयम्सेवक परिचालन, विदेशी लगानीकर्तालाई विभिन्न आयोजनाका बिषयमा जानकारी दिनका निम्ति कक्ष व्यवस्थापन लगायतका कामको पूर्व तयारी तीव्र बनाइएको उपाध्यायले जानकारी दिए। आइतबार बेलुकासम्ममा ३१ देशका दुई सय ६० भन्दा बढी अतिथि सम्मेलनमा आउने तय भइसकेको बोर्डले जनाएको छ।

लगानी सम्मेलनका क्रममा तीनवटा परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पिडिए) गर्ने तयारी भइरहेको र अहिले विकासकर्ता कम्पनीसँग त्यस  विषयमा वार्ता चलिरहेको प्रवक्ता उपाध्यायले बताए। सम्मेलनका क्रममा नेपाल–चीन मैत्री औद्योगिक पार्क, अपर मर्स्याङ्दी–२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगङ्गा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदैछ। त्यस्तै, डावर नेपाल प्राइभेट लिमिटेडसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट–पिआईए) को तयारी छ। लगानी सम्मेलनअघि प्रधानमन्त्रीको अध्यक्षतामा रहने लगानी बोर्डको बैठक बस्ने तयारी भइरहेको पनि बोर्डले जनाएको छ। सम्मेलनमार्फत् विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) माग गरिँदैछ। त्यस्तै, अगाडि बढाउन सकिने सम्भावित आयोजनाका रुपमा ‘मार्केट साउण्डिङ प्रोजेक्ट’ छ वटा, आयोजना पहिचानको प्रारम्भिक चरणका ३३ वटा, वित्तीय लगानी जुटाउने अवस्थाका २० वटा लगायतका आयोजना सोकेसमा लगिँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement