झापा (नेपाल): पूर्वीनेपालअन्तर्गत इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौँ सूर्योदय सडक महोत्सव शुरु भएको छ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबारबाट पाँचौँ संस्करणको सूर्योदय सडक महोत्सव शुरु भएको छ। महोत्सवको उद्घाटन गर्दै सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले पर्यटकीय नगरीमा आयोजना गरिएको महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। सडक महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ।
महोत्सवमा स्थानीय खाद्य परिकार, हस्तकला सामग्री, विद्युतीय सवारी साधन स्टल, वातावरणमैत्री निर्माण सामग्री र स्थानीय पर्यटकीय उपजका गरी २५ वटा स्टल रहेका छन्। दुई दिनसम्म सञ्चालन हुने महोत्सव सम्पन्न गर्दा १९ लाख रुपियाँ खर्च हुने र उक्त अवधिमा १५ हजारले महोत्सवको अवलोकन गर्ने आयोजक सूर्योदय होटल व्यवसायी सङ्घका अध्यक्ष प्रज्वल प्रधानले जानकारी दिएका छन्। उनले भने, ‘सडक महोत्सव नेपालका थोरै ठाउँमा मात्र हुने गरेको छ, त्यस मध्ये निरन्तरता पाएको फिक्कलले पनि हो।’ महोत्सवको आयोजना सूर्योदय होटल व्यवसायी संघ, यूनाइटेड फिक्कल क्लब र सूर्योदय जेसिजले गरेका छन्। सूर्योदय जेसिजका अध्यक्ष अभिषेक पौडेलले सडक महोत्सवमा दुई दिनमा एक करोड रुपियाँ बढीको कारोबार हुने बताए। महोत्सवमा गायिका रचना रिमालसहित विभिन्न ब्याण्डको प्रस्तुति रहने छ। पाँच वर्षदेखि फिक्कलमा सडक महोत्सव हुँदै आएको छ।










