ओडिशाबाट कोलकाता जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, करिब ४० जना घाइते

IMG-20240416-WA0126

कोलकाता: ओडिशामा एक भीषण सडक दुर्घटना भएको छ। जसमा ओडिशाबाट कोलकाता जाँदै गरेको बस अचानक जाजपुर जिल्लाको फ्लाईओभरबाट तल खसेर दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने करिब ४० जना घाइते भएका छन्। पुलिसले घटनास्थलमा पुगेर राहत र उद्धार कार्य शुरु गरेपछि घाइते सबैलाई अस्पताल भर्ना गरिएको छ। यहाँ राष्ट्रिय राजमार्ग–१६ मा सोमबार राति ओभरब्रिजबाट बस खसेको हो।  यस दुर्घटनामा धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ। करिब १० जनालाई आईसीयुमा राखिएको छ। घटनापछि मुख्यमन्त्री नवीन पटनायकले घटनास्थलमा अधिकारीहरू पठाएका छन् र घटनाको छानबिन गर्न आदेश दिएका छन्। मृतक र घाइतेका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरिएको छ। मृत्यु हुनेमा महिला र बालबालिका पनि छन्।

महिला र बालबालिकासहित करिब ५५ यात्रु बोकेको बस पश्चिम बंगालको पूर्वी मेदिनीपुर जिल्लाको हल्दिया जाँदै गरेको बताइएको छ। राति ८ बजे रसूलपुर क्षेत्र जाजपुरस्थित बाराबती चोक नजिकैको ओभरब्रिजबाट बस चालकले नियन्त्रण गुमाएपछि बस खसेको बताइएको छ। खबर पाएर रसूलपुर र चण्डीखोल दमकलका दमकलका कर्मचारी तुरुन्तै घटनास्थलमा पुगेर स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूको उद्धार गरे। दमकलका कर्मचारीले ग्यास कटरको सहायताले बसबाट घाइतेको उद्धार गरे। उद्धार कार्यमा १६ वटा एम्बुलेन्स र क्रेन प्रयोग गरिएको थियो। उद्धार कार्यको निरीक्षण गर्न जाजपुरका पुलिस उपरीक्षक, चिकित्सक र जिल्ला प्रशासनका अन्य अधिकारी पनि दुर्घटनास्थलमा पुगे। करिब ४० जना घाइते यात्रुलाई नजिकैको धर्मशालाको अस्पतालमा लगिएको थियो, जहाँ चिकित्सकले ५ जनालाई मृत घोषणा गरे। १० भन्दा बढी यात्रुहरूलाई एससीबी मेडिकल कलेजमा भर्ना गरिएको छ। यस दुःखद दुर्घटनामा शोक व्यक्त गर्दै मुख्यमन्त्री नवीन पटनायकले मृतकका परिवारलाई तीन लाख रुपियाँ दिने घोषणा गरेका छन्। उनले घाइतेहरुको उपचारको सम्पूर्ण खर्च राज्य सरकारले व्योहोर्ने घोषणा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement