जाेरथाङ: गत ५ अप्रेलदेखि शुरु भएको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको चुनावी सभाको आज समापन भएको छ। यस अवसरमा जोरथाङ खेलमैदानमा राज्यस्तरीय जन समर्थन महासभा आयोजना गरियो, जसमा पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए।
यसैगरी, ३२ वटै निर्वाचन क्षेत्रका एसकेएम प्रार्थीहरू, लोकसभा उम्मेदवार, पार्टीका पदाधिकारीहरू र कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
यसै कार्यक्रममाझ राज्यभरिका स्वयं सहायता समुह, कलाकार संघ र विभिन्न विश्वविद्यालयका एसआरीले एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङलाई आगामी ११औं लोकसभा चुनाउ अनि १८औं विधानसभा चुनाउको निम्ति समर्थन पत्र प्रदान गरे।
जन समर्थन महासभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तामाङले आगामी चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सतप्रतिशत जीत हुने दावी गरे। सुनौलो सिक्किम निर्माणको पक्षमा आज उनले अनेकौं जनपक्षीय घोषणाहरू गरे। दोस्रो कार्यकालमा सबै विश्वविद्यालयमा अध्ययनरत छात्र-छात्राहरूको निम्ति नि:शुल्क छात्रावासको व्यवस्था, विद्यार्थीहरूलाई एसएनटी बसमा निःशुल्क यातायात, सबै कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई ल्यापटप प्रदान गर्ने उनले घोषणा गरे। योसँगै सबै डान्स अकादमीहरूलाई प्रतिवर्ष 5 लाख रुपियाँको सहयोग राशि प्रदान गर्ने पनि उनले घोषणा गरे।
यसरी नै विभिन्न फर्मास्युटीकल कम्पनीमा कार्यरत कर्मचारीहरूको न्युनतम वेतन २१ हजार बनाउने पनि उनले घोषणा गरे भने एक कम्पनीले एक स्पोर्ट्स अकादमीलाई काख लिएर वार्षिक ५० लाखसम्मको सहयोग प्रदान गर्ने व्यवस्था मिलाइने पनि उनले प्रतिवद्धता व्यक्त गरे। योसँगै अबको कार्यकालमा सबै कागजपत्रहरू अनलाइन मार्फत तयार गरिने साथै जनतालाई घर-घरमा पुऱ्याउने व्यवस्था प्रणाली निर्माण गर्ने पनि उनले घोषणा गरे। महिलाहरूलाई सरकारी नौकरीमा ५० प्रतिशतको आरक्षण अनि गर्भवती महीलिहरूलाई पौष्टिक आहार निम्ति मातृ सुरक्षा योजना अन्तर्गत २१ लाख रुपियाँ प्रदान गर्ने उनले घोषणा गरे।
सुनौलो अनि समृद्ध सिक्किम निर्माण गर्नको निम्ति अनेकौं जनपक्षीय कार्यहरू आगामी कार्यकालमा गर्ने उनले सबैप्रति प्रतिबद्धता व्यक्त गरे। यसरी नै यो अभियानलाई सफल बनाउनको निम्ति सबैले आगामी १९ अप्रेलमा टेबल ल्याम्पको चिन्हमा भोट लगाएर आफ्नो जिम्मेवारी पूरा गर्न सबैलाई आह्वान गरे। अब अन्य जुनै पनि पार्टीले जेसुकै भनेपनि कसैको दाल नगल्ने उनले किटान गरे।
विपक्षीहरूले जतिनै मच्चिएर जतिसुकै घोषणा गरेपनि तिनीहरूको झुटो आश्वसनमा नफस्न उनले सबैलाई अपील गरे। अब केवल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले मात्र सिक्किम निर्माण गर्ने अनि सिक्किमलाई निर्माण गरेर सुनौलो अनि समृद्ध सिक्किममा रुपान्तरित गर्ने उनले बताए। यसोहुँदा कोही पनि यो चुनाउमा नझुक्किने अनि नबिग्रिने पनि सुझाउ दिए। यदि कुनै समष्टिको जनता बिग्रिएको खण्डमा उनीहरूलाई नै नोक्सान हुने पनि उनले बताए।
यसै कारणले यो चुनाउमा सबैले आ-आफ्नो प्रार्थीहरूलाई विपुल मत दिएर विजयी गराउने मुख्यमन्त्री तामाङले आग्रह गरे। योसँगै केन्द्र सरकारसँग राम्रो समन्वय राखेर छुटिएको जात गोष्ठीलाई जनजातिको मान्यता दिलाउन साथै लिम्बू तामाङको सिट आरक्षण गर्नको निम्ति लोकसभा प्रार्थी डा. इन्द्रहाङ सुब्बालाई पनि विजयी गराउन आग्रह गरे।