सिलगढी: केन्द्रीय सूचना एवं प्रसारण मन्त्री, तथा युवा मामिला मन्त्री अनुराग ठाकुरसँग विभिन्न सामाजिक अनि सांस्कृतिक संगठन, खेल क्लब अनि युवा संगठनहरू, व्यापार संघ-संस्थाहरू, गैर-सरकारी संस्थाहरूका प्रतिनिधि, तथा सिलगढी वरिपरि क्षेत्रका प्रमुख नागरिकहरूका साथ बैठक र अन्तर्क्रियामा आफू सहभागी भएको भाजपाका उम्मेदवार तथा सांसद राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्। भाजपाको गठबन्धन पार्टीका नेताहरू, भाजपा नेताहरू अनि कार्यकर्ताहरूका साथै गोरुबथान र मिलन मोडमा चुनाव प्रचार अभियान बैठकमा उनी सहभागी भए। केन्द्रीय मन्त्री अनुरागले आफ्नो सम्बोधनको शुरुआतमा स्वतन्त्रता संग्रामीहरू हेलेन लेप्चा, दलबहादुर गिरी अनि भगवान बिरसा मुण्डाअनि राजवंशी आदर्श व्यक्तित्व वीर चिल्लारायज्यूप्रति सम्मान व्यक्त गर्दै शुरु गरेको राजु बिष्टले प्रेस विज्ञप्तिमा बताएका छन्l यस क्षेत्रमा रहेको आर्थिक सम्भाव्यता खासगरि सिमाना वारिपारि व्यापार, कृषि, अनि पर्यटनको बारेमा मन्त्री अनुराग ठाकुरले जोड दिएको उनले बताएका छन्।

राजु बिष्टले भने, ‘उहाँले (केन्द्रीय मन्त्री अनुराग ठाकुर) टीएमसी सरकारअन्तर्गत व्याप्त भ्रष्टाचारको भण्डाफोर गरे। शिक्षक भर्ती घोटाला, गाई तस्करी घोटाला, पीडीएस राशन घोटाला, हर घर जल घोटालाको उल्लेख गरेl’ केन्द्रीय मन्त्री अनुराग ठाकुरले प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको नेतृत्वमा चिया अनि सिन्कोना बगान श्रमिकहरूका लागि उचित रोज अनि सुविधाहरूको ग्यारेण्टी दिने चार नयाँ श्रम कानूनहरू पारित गरिएको भए तापनि पश्चिम बंगाल सरकारले आजसम्म ती कानूनहरू यस क्षेत्रमा लागु गरेको नगरेको बताए। दार्जीलिङ पहाड, तराई अनि डुवर्स क्षेत्रमा केन्द्रीय सरकारद्वारा शुरु गरिएका अनि स्वीकृति दिइएका विभिन्न कार्यहरूको बारेमा केन्द्रीय मन्त्री अनुराग ठाकुरले बताएl जसमा आकाशवाणी खरसाङलाई भारतमा नेपाली भाषाका कार्यक्रमहरूको निर्माण केन्द्रको रूपमा समुन्नतिकरण, कालेबुङ र गान्तोकको लागि एनच–७१७ए, हर घर जल योजना, दार्जीलिङ, कालेबुङ, मिरिक, सिलगढी नगरपालिकाहरूका लागि अम्रुत योजना, सेभोक-रम्फू रेललाइन, बागडोग्रा हवाईअड्डा, बालासन-सेभोक एलिभेटेड हाईवे करिडोर, कोरोनेशन पुलको वैकल्पिक पुल, सिलगढी देखि गोरखपुर एक्सप्रेसवे, कालेबुङमा एकलव्य आदर्श आवासीय स्कूलको स्थापना, चिया बगान अनि सिन्कोना बगान श्रमिकहरूका लागि सिलगढीमा बनिरहेको ईएसआईसी अस्पताल तथा अन्य परियोजनाहरू सामेल रहेको राजु बिष्टले बताएका छन्। केन्द्रीय मन्त्री अनुराग ठाकुरले गोर्खा जाति अनि दार्जीलिङ पहाड, तराई अनि डुवर्सका जनताका लागि न्याय सुनिश्चित गर्ने भाजपाको सरकारको वचनबद्धता बारे पनि बोलेको राजु बिष्टले बताएका छन्।