झापा, (नेपाल): पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या सात लाख भन्दा बढी छ। वैदेशिक रोजगार विभागका अनुसार सन् २०२३ (२०८० को वैशाख)देखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका छन्। त्यसो त अघिल्लो वर्ष सन् २०२३ (२०७९ चैत्र)देखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या सात लाख ७३ हजार २४२ हजार थियो। जुन संख्या विसं २०८० सालको भन्दा विसं २०७९ सालमा श्रम स्वीकृति लिनेको संख्या ६१ हजार ८१९ जनाले बढी हो। वैदेशिक रोजगार विभागका अनुसार विसं २०७८ सालमा भने साढे पाँच लाख जना युवाले श्रम स्वीकृति लिएर रोजगारीका निम्ति विदेश गएका थिए। यो रेकर्ड हेर्दा पछिल्लो दुई वर्षमा रोजगारीका निम्ति बिदेसिनेको संख्या बढेको पुष्टि हुन्छ। विभागका अनुसार यो वर्षको सो अवधिमा सबैभन्दा धेरै चैत्र महिनामा ७० हजार ९३३ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएका छन्। यस्तै जेष्ठ महिनामा ५९ हजार ४२२ जनाले श्रम स्वीकृति लिएका छन् भने अषाढ़मा ५५ हजार २९९ जना, साउनमा ५५ हजार ५७५ जना गएको विभागको प्रतिवेदनमा भनेको छ। विभागका अनुसार भाद्रमा ५० हजार ८८४ जनाले विदेश जान श्रम स्वीकृति लिएकोमा आश्विन महिनामा ५६ हजार २३५ श्रम स्वीकृति लिएर विदेशिएका छन्। यसरी नै मङ्सिरमा ६८ हजार २०१ जना, पौष महिनामा ६५ हजार ८१३ जना, माघ महिनामा ६२ हजार १४७ जना र फाल्गुणमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
युएई पहिलो श्रम गन्तव्य
विसं २०८० मा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ। विभागका अनुसार सो अवधिमा सात लाख ११ हजार ३५१ जनाले श्रम स्वीकृति लिएकोमा युएईका निम्ति एक लाख ६३ हजार ७६८ जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने शुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ। यस अवधिमा नेपालीको दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ। विसं २०७९ मा नेपाली श्रमिकको चौथो श्रम गन्तव्य देशका रूपमा रहेको कतार यो वर्षको रेकर्ड हेर्दा दोस्रो स्थानमा छ। अघिल्लो वर्ष नेपालीको पहिलो श्रम गन्तव्य देश भएको मलेसिया यो वर्षमा भने चौथो स्थानमा छ। यस्तै गत वर्ष सो अवधिमा नेपालीको दोस्रो श्रम गन्तव्य देश रहेको साउदी अरब यो पटक भने तेस्रो स्थानमा रहेको छ।
विभागका अनुसार यो वर्ष कात्तिकबाहेक अन्य महिना रोजगारीमा जानेको संख्या ५० हजारभन्दा माथि नाघेको छ। कात्तिकमा नेपालीको महान चाडपर्व दसैँतिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या नबढेको हो। गएको चैत्र महिनामा ७० हजार ९३३ जनाले श्रम स्वीकृति लिएर रोजगारीका निम्ति विदेसिएका छन्। विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको शुरुदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताए। विगतका दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकोमा यो वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य देश बन्न सफल भएको उनको भनाइ छ। महानिर्देशक घिमिरेले पछिल्लो वर्ष मलेसियाका रोजगारदाता कम्पनीले अप्रवासी श्रमिकका निम्ति नयाँ लिने कार्य बन्द गरेकाले पनि पछिल्लो पटक मलेसिया जानेको संख्या घटेको बताए। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ। नेपाल राष्ट्र ब्यांकले गत महिना सार्वजनिक गरेको रेकर्ड अनुसार चालु आर्थिक वर्षको आठ महिना (फागुन महिना) सम्म नौ अर्ब ६१ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ। गत वर्ष सो अवधिमा सात अर्ब ९४ अर्ब रुपियाँ विप्रेषण भित्रिएको थियो। विप्रेषण भित्रिने दरमा २१ प्रतिशतले वृद्धि भएको हो। यो रेकर्ड हेर्दा मासिक औसत एक खर्ब २२ अर्ब रुपियाँ भित्रिएको देखिन्छ। यो वर्षको यस अवधिसम्म आएको विप्रेषण गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत धेरै रहेको राष्ट्र ब्यांकको दाबी छ।