सुनौलो परिवार समिति खरसाङद्वारा पानीको समस्या समाधानार्थ पहल

IMG-20240415-WA0204.jpg

खरसाङ: मार्च अप्रेल महिना पहाड़ी क्षेत्रको मानिसहरूले भोग्नु पर्ने सबैभन्दा जटिल समस्या हो पिउने पानीको समस्या। बेहिसाब पैसा खर्च गरेर सरकारी निकायहरूले लाखौँ लिटर आयातनका बढ़ेमानका ट्याङ्कीहरू त जगा जगा बनाइदिएका छन्। तर नियमित हेरचाह र मरमत्तिको कमीले ट्याङ्कीहरू चुहिरहेको, स्रोतमा पानी सङ्ग्रह गरिने प्रकल्प मैला कुचेलाले बुच्चिएर आवश्यक पानी सङ्ग्रह हुन नसकेको, सार्वजनिक स्रोतबाट व्यक्तिगत पाइपहरू आफ्नो खुशी जड़ान गरिएको तथा पाइपहरू वर्षौंदेखि परिवर्तनको अभावले खियाले मक्किएको,भाँचिएको हुँदा यसको नराम्रो असर साधारण जनताले भोग्न परिरहेको सत्य कसैबाट लुक्न सकिरहेको छैन। हिउँदो वा सुकौरो मौसममा पहाड़का औसत जनताले यस किसिमको समस्या भोग्नपरिरहेको कुरो नितान्त नौलो होइन। खरसाङको डाउहिल क्षेत्रमा पनि लाखौँ लिटरको पानीको ट्याङ्की अवस्थित छ।बर्खामा यस ट्याङकीबाट पानी प्रायः अतिप्रवाह भए पनि हिउँदो लागेपछि यस ट्याङ्कीमा आश्रित जनताले पानीको निम्ति तड़्पिनु पर्ने स्थिति बितेको धेरै वर्षदेखि यथावत छ। स्मरण रहोस् आफ्नो क्षेत्रको पानीको समाधान हेतु डाउहिल सुनौलो परिवार समितिले लगातार रूपमा ज्ञापन पत्रहरू खरसाङ नगरपालिकालाई समय समयमा नचढ़ाएको होइन। तर व्यवहारिक रूपमा भनेको जस्तो वा स्थायी रूपले समस्या समाधान हुनसकेको छैन। यस वर्ष पनि यस क्षेत्रका नगरवासीहरूले पिउने पानीको समस्या गत महिनादेखि झेलिरहेको थिए। यस विषयमा समितिले यथाशीघ्र समाधान होस् भन्ने खातिर सम्बन्धित निकायलाई निवेदन पत्र चढ़ाएको पनि हो। तर समस्या समाधान हुनको साटो झन् जटील हुँदै गइरहेको थियो।फलतः समिति आफ्नो सक्रिय सदस्यहरूको सहयोगमा स्वयम् यस समस्याको समाधानको निम्ति अघि आयो। विशेष छुट्टीको अवसर पारेर सभापति दावा लामा अनि सचिव फुर्बा तामाङको अगुवाईमा आफ्नो सदस्य र पानी कर्मीहरू (फिटर)-को सहयोग लिएर समस्याको रोकथाम र समाधानार्थ जलस्रोत क्षेत्र बुलबुले पाखामा गई निरिक्षण गरेक जानकारी प्राप्त भएको छ।

खरसाङको डाउहिलस्थित सुनौलो परिवार समितिको सह सचिव विनोद रसाइलीले दिएको जानकारी अनुसार समस्या कठीन भए पनि असम्भव थिएन। सदस्यहरू बाँड़िएर कोही स्रोत ठीक गर्न पुगे, कोही जल सङ्ग्रहालयलाई आवश्यक सिमेन्ट र बालुवा फिटेर मरमत्ति क्रममा जुटे अनि कोही मक्किएका पाइपहरू परिवर्तन गर्न खटिए। यसरी सामुहिक प्रयासमा बेलुकी साँझसम्म जलस्रोत र ट्याङ्कीसम्म आउने पानीको पाइपहरू ठीक गर्ने औसतभन्दामाथि काम सम्पन्न हुनसक्यो। यस प्रसङ्गमा समितिका सभापति दावा लामाले भन्छन् – ‘यस बेला समिति नयाँ कार्यकारी समितिको नौलो उत्साह र उमङ्ग लिएर समितिका मूलभूत आवश्यकताहरू सुल्झाउने क्रममा लगातार लागि परिरहेको छ जसमा समितिका हरेक सदस्यले आफ्नो बुता र प्रतिभा अनुसार समितिलाई सघाइरहेका छन्। आज पनि समितिका सदस्यहरू अघि आएर नै पानीको समस्या समाधानमा केही हदसम्म सफल हुन सकेको हो।’ उनी अझ भन्छन् -‘आजको अभियानमा आवश्यक पाइपहरू समितिका उप सभापति सुष्मा मुखियाले उपलब्ध गराइदिएकी हुन् अनि फिटरहरू क्रमैले सुरज सुब्बा, रविन थापा अनि मुन्ना तामाङको योगदान उल्लेखनीय छ।’

यसै क्रममा सचिव फुर्बा तामाङले सुष्मा मुखिया, फिटरहरू र श्रमदाता सदस्यहरूलाई समितिको पक्षबाट हार्दिक धन्यवाद प्रकट गरेका छन्। उनी अझ भन्छन् ‘पानी जीवनको अपरिहार्य तत्व हो।पानीविना जीवनको सम्भावना असम्भव छ। त्यसर्थ, पानीको मूल्यलाई बुझेर आवश्यकता अनुसार पानीको प्रयोग गरौँ, घरको कल-नल ठीक राखोँ अनि पानीको सुरक्षा र सम्वर्ध्दनको निम्ति सबै अघि आऔँ।’ यसको साथै उनले यस वर्षको पहिलो बैशाख यसरी अर्थपूर्ण रहेको जनाउँदै सबैलाई शुभेच्छा प्रकट गरेको डाउहिल सुनौलो परिवार समिति खरसाङको सह सचिव विनोद रसाइलीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement