खरसाङ: आज खरसाङ महकुमा अन्तर्गत टुंग सन्तमेरिज समष्टिमा जल जीवन मिशन अन्तर्गत घर घरमा पानी योजनामार्फत् पीएचई विभागबाट जम्मा छवटा योजनाहरूको शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्य गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डिपुटी चेयरम्यान राजेश चौहान, टुंग सन्तमेरिज समष्टिका सभासद नुरि शेर्पा र पीएचई विभागीय कार्यकारी अभियन्ता मणिरत्न मंग्राती आदिको सिपाहीधुरा सार्वजनिक भवनमा शिलान्यास गरिएको छ। टुंग सन्त मेरिज समष्टिको विभिन्न क्षेत्रहरूमा जम्मा छवटा पानीको योजनाहरूको आज शिलान्यास गरिएको छ। यस समष्टीमा १६ लाख ४९ हजार ७२५ रुपियाँको लागतमा खहरे बस्तीमा, १४ लाख ५१ हजार ७२९ रुपियाँको लागतमा गोथल्स साईडिङ क्षेत्रमा, २० लाख ५ हजार ३७ रुपियाँको लागत खर्चमा सिपाहीधुरा चियाबारीमा, ५ लाख ९५ हजार ९ सय रुपियाँको लागत खर्चमा दिलराम चियाबारीमा, २७ लाख ७६ हजार ९ सय २७ रुपियाँको लागत खर्चमा अरिङ्गले र २५ लाख ३६ हजार ५ सय २९ रुपियाँको लागत खर्चमा पोखरीटारमा पानीको योजनाहरू रहेको छ। यी सबै छवटा पानीको योजनाहरूका शिलान्यास कार्य सम्पन्न गरिएको छ। कार्यक्रममा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पाले आफ्नो सम्बोधनमा जीटीएबाट सम्पूर्ण क्षेत्रमा पानीको असुविधालाई समाधान गर्नलाई यो पहल गरिएको र यसै पहल अन्तर्गत आज हाम्रो समष्टीमा पनि छवटा पानीको योजनाहरूको शिलान्यास गरिएको बताए। उनले पानीको योजनाहरू जीटीएको प्रत्येक गाउँमा लाने र पानीको समस्या समाधान गरिने कारण अब कसैले पनि पानी बोकेर खान पर्दैन, कुनै पनि गाउँ पानीको योजनाबाट छोडिनेछैन भनी बताए। सभासद शेर्पाले यस समष्टीमा पनि धेरै गाउँहरूमा पानीको सर्वे गरिसकेका छौं र समष्टीको कुनै पनि गाउँ छोडिने छैन अनि हाम्रो समष्टीमा अझैं साठी करोड़ बराबरको लागतमा पानीको योजनाहरू गरिने पनि बताएका छन्। कार्यक्रममा उपस्थित खरसाङ देवराली समष्टिका सभासद एंव जीटीएको स्वास्थ्य विभाग मेम्बर अन ड्युटी श्याम शेर्पाले सम्बोधन गर्दै पार्टी अध्यक्ष अनित थापाले जे भन्छन् त्यही गर्छौं तर हामी झुटको राजनीति गर्दैनौं भनी बताए। शेर्पाले म आफ्नो विभागबाट पनि टुंग सन्त मेरिज समष्टिमा कार्य गर्नेछु भन्दै आज यस समष्टीले पानीको योजना उपहारको रूपमा लिएको र यसलाई सबै मिलेर सफल पार्नुपर्छ भनी बताएका छन्। कार्यक्रममा पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले सम्भाषण राखेका थिए। यस शिलान्यास कार्यक्रममा टुंग सन्त मेरिज समष्टिको पार्टी पदाधिकारीहरू र कार्यकर्ताहरू उपस्थित रहेका थिए।