अफगानिस्तान र पाकिस्तानमा वर्षा र चट्याङका कारण ५७ जनाको मृत्यु

3213456

अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण ५७ जनाको मृत्यु भएको छ। योसँगै दुवै देशमा एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ भने २५० भन्दा बढी पशुपंक्षीको मृत्यु भएको बताइएको छ। ज्यान गुमाउनेमा अफगानिस्तानका ३३ र पाकिस्तानका २४ जना रहेका छन्। पाकिस्तानमा सबैभन्दा धेरै मृत्यु पञ्जाब प्रान्तमा भएको छ। दुवै देशका मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको छ। तालिबानको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता अब्दुल्लाह जनान साकले बाढीले राजधानी काबुल र देशका अन्य धेरै प्रान्तहरू प्रभावित भएको बताए। बाढीबाट झण्डै ८ सय हेक्टर बाली नष्ट भएको छ भने सडकमा क्षति पुगेको छ। सबैभन्दा बढी क्षति पश्चिमी फराह, हेरात, दक्षिणी जाबुल र कान्दाहार प्रान्तमा भएको छ। मौसम विभागले अफगानिस्तानका ३४ प्रान्तका अधिकांश क्षेत्रमा आगामी दिनमा भारी वर्षा हुने चेतावनी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement