चेन्नई विरुद्ध हारपछि पथिरानाको बलिंगले अन्तर सृष्टि गरेको बताए हार्दिकले

IMG-20240415-WA0101.jpg

मुम्बई: आईपीएल २०२४-को २९औं म्याचमा मुम्बई इण्डियन्सले आफ्नो होम ग्राउण्ड वानखेड़े स्टेडियममा चेन्नई सुपर किंग्स विरुद्ध २० रनले हारको सामना गर्नु पऱ्यो। आईपीएल इतिहासको सबैभन्दा सफल दुई टीमबीच भएको म्याचमा चेन्नईले दिएको २०७ रनको लक्ष्यलाई खेदो गर्दै मुम्बईले एक समय ३ विकेटमा १३० रन बनाइसकेको थियो तर त्यसपछि कप्तान हार्दिक पाण्ड्या ६ बलमा केवल २ रन बनाएर आउट भए। उनको विकेट पतन भएपछि टिम डेविड र रोमारियो शेफर्ड पनि भटाभट आउट भए। पूर्व कप्तान रोहित शर्माले अविजित शतक बनाए पनि दबाउको परिस्थितिमा मुम्बई इण्डियन्सले लगातार विकेट गुमायो। स्टेडियममा उपस्थित दर्शकहरू कप्तान हार्दिकको खराब ब्याटिंगले निराश देखिए। म्याच समाप्त भएपछि हार्दिकले चेन्नईका बलर माथिशा पथिरानाले अन्तर सृष्टि गरेको बताए। हार्दिकले भने, यो (लक्ष्य) निश्चित रूपले हासिल गर्न सकिने थियो तर पथिरानाले असाधारण बलिंग गरे। उनी योजनाको साथ आएका थिए अनि आफ्नो दृष्टिकोणमा पनि चतुर देखिए। यस विकेटमा कसरी बलिंग गर्नु पर्नेछ भन्ने उनले बुझे। त्यसै पनि विकेटपछि उभिएका एकजना मानिस (धोनी)-ले उनलाई निरन्तर दिशा-निर्देश दिए। पीच दोस्रो ईनिंग्समा सामान्य मुश्किल भएको थियो। हामीले असल ब्याटिंग गर्ने अनि मानसिकता देखाउने आवश्यकता थियो। अब हामी आउँदो चारवटा म्याचको निम्ति तयार छौं अनि हामीले असल क्रिकेट खेल्नु पर्नेछ।
म्याचको कुरा गर्दा टस हारेर पहिला ब्याटिंग गर्दै चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २०६ रनको मजबूत स्कोर बनायो। दुईजना ओपनर अजिंक्य रहाणे (५) र रचिन रविन्द्र (२१) शुरुमै आउट हुँदा स्कोर २ विकेटमा ६० रहेको थियो। त्यहाँबाट कप्तान रुतुराज गायकवाड़ (६९ रन) र फर्ममा रहने शिवम दुबे (अविजित ६६)-ले तेस्रो विकेटको निम्ति ९० रनको पार्टनरशीप गरी टीममा सम्हाले। गायकवाड़ले ४० बल खेलेर ५ वटा छक्का र ५ वटा चौका लगाए। त्यसपछि डेरिल मिचेल १७ रन बनाएर आउट भए पनि दुबे र पूर्व कप्तान एमएस धोनीले मिलेर चेन्नईलाई २०६-को स्कोरसम्म पुऱ्याए। धोनीले केवल ४ बल खेलेर अविजित २० रन बनाए, जसमा ईनिंग्सको अन्तिम ओभरमा विपक्षी कप्तान हार्दिकको बलिंगमा लगाएको लगातार तीनवटा छक्का सामेल छ। यसरी दुबेले ३८ बल खेलेर १० वटा चौका र २ वटा छक्का लगाए। मुम्बई इण्डियन्सबाट हार्दिकले सर्वाधिक २ विकेट लिए। त्यसपछि मुम्बई इण्डियन्सको तर्फबाट ओपनर रोहितले असाधारण शतक बनाए पनि अन्य कसैले उल्लेखनीय योगदान दिन सकेनन्। रोहितले ११ वटा चौका र ५ वटा छक्काको साथ ६३ बलमा अविजित १०५ रन बनाए। यसबाहेक तिलक वर्माले ३१ र ईशान किशनले २३ रनको योगदान दिए। सूर्यकुमार यादव खाता नखोली आउट भए। यसरी मुम्बई इण्डियन्सले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो। चेन्नईका बलरहरूमा पथिरानाले सर्वाधिक ४ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *