एसडीएफ पार्टीको गान्तोकमा चुनाउ जनसभा

IMG-20240414-WA0328.jpg

गान्तोक: पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको आगामी सरकारमा गान्तोक शहरलाई ग्रीन सिटीमा रूपान्तरण गर्ने बताएका छन्। आज यहाँ पार्टीको एउटा जनसभालाई सम्बोधन गर्दै उनले भने, “गान्तोकमा जति पनि खाली जमीनहरूलाई छन्, त्यहाँ ग्रीन स्पेस बनाउनेछौं अनि गान्तोकलाई हामी ग्रीन सिटी बनाउनेछौं।” यहाँको पुरानो चिल्ड्रन पार्कमा गान्तोक, अप्पर बुर्तुक, तादोङ, स्यारी र आरिथाङ समष्टिको लागि आज एसडीएफ पार्टीको चुनाउ जनसभा आयोजना गरिएको थियो। एसडीएफ पार्टीको आगामी सरकारमा गान्तोकमा हाइड्रोलिक कार पार्किङ, केबल कार र आवश्यक परेका ठाउँमा ओभरहेड ब्रीजहरू बनाउने चामलिङले सम्बोधनमा बताए। यसको साथै उनले राज्यको विकास, शान्ति र सुरक्षाको लागि एसडीएफ पार्टीलाई आगामी चुनाउमा मतदान गर्ने राज्यवासीलाई अपील गरे।

पवन चामलिङले गान्तोकका व्यापारीले एसडीएफ सरकारकालमा देशकै सबैभन्दा स्वच्छ शहरमा व्यापार गर्ने अवसर पाएको दावी गर्दै सिक्किमका सबै शहर बजारहरूलाई एसडीएफ पार्टीको आगामी सरकारले एक्टिभ सिटी बनाउने बताए। उनले भने, “भारतको पहिलो एक्टिभ सिटी सिक्किममा हुनेछ।” उनले गान्तोकको रीज पार्कलाई एमजी मार्गजस्तै बनाउने, सिक्किमका जम्मै बजारहरूमा वाटर गार्डन, फाउण्टेन भएको ब्लु सिटी बनाउने, बजारका जम्मै तार, केबललाई अण्डरग्राउण्ड गरेर जापान जस्तै बनाउने, गान्तोक बजार राति बाह्र बजीसम्म खुल्ला, झलमल्ल र सुरक्षित बनाउने पनि घोषणा गरे।

चामलिङले भने, “व्यापारीहरूलाई सबैभन्दा बढी शान्ति, सुरक्षा, इज्जत-सम्मान चाहिन्छ, त्यो हामी दिलाउनेछौं। पुराना व्यापारीलाई अधिकार दिनेछौं अनि व्यापारको आयतन बढ़ाइदिनेछौं। यसका लागि गुड गवर्नेन्स चाहिन्छ, त्यो हामी दिनेछौं।” अर्कोतिर एसकेएम सरकारले बाहिरका व्यापारीहरूलाई राज्यमा भित्राएर शपिङ मलहरू खोलाएर यहाँका पुराना व्यापारीको व्यापार खोसेको उनले आरोप लगाएका छन्।

एसडीएफ पार्टी फेरि सरकारमा आएको खण्डमा सबैभन्दा पहिले राज्यको कानून व्यवस्था ठीक पार्ने पवन चामलिङको भनाइ रहेको छ। उनले भने, “हाम्रो सरकार आएपछि पुलिस, मुख्यमन्त्री आदि कसैसँग डराउनुपर्दैन केवल कानूनसँग र भगवानसँग डराउनुपर्नेछ।” यसको साथै चामलिङले बालुवाखानीमा, ताथाङचेन र डेवलपमेण्ट एरियामा सामुदायिक भवन बनाउने, जीएमसीमा टिबेटन र मुसलमानलाई सीट दिने, देउरालीमा बिहारी भवन बनाउने, गान्तोकमा डिजिटल होर्डिङ लगाउने, बिस्तारै अन्य बजारमा पनि डिजिटल होर्डिङ लगाउने, सबै बजारमा फ्री फाइभ जी वाईफाईको सुविधा दिने, टुरिस्टका लागि एप् शुरू गर्ने, राज्यमा प्रतिवर्ष एक करोड़ टुरिस्ट ल्याउने जस्ता घोषणाहरू पनि गरे।

पूर्व मुख्यमन्त्री चामलिङले पीएस गोले सरकारमाथि राज्य सरकारलाई राजस्व दिने सबै सरकारी सम्पत्ति बेचेको आरोप पनि लगाएका छन्। “हामी सरकारमा आएपछि कानुनी कार्वाही गर्छौं र तिनलाई फर्काउनेछौं”, उनले भने। एसकेएम सरकारले सिक्किमको आर्थिक स्थिति श्रीलंकाको जस्तो बनाएको चामलिङको भनाइ रहेको छ।

जनसभालाई तादोङका उम्मेद्वार सीबी छेत्री, स्यारीका उम्मेद्वार तेञ्जिङ नर्बु लाम्था, गान्तोकका उम्मेद्वार पिञ्चो छोपेल लेप्चा, आरिथाङका उम्मेद्वार आशिष राई र अप्पर बुर्तुकका उम्मेद्वार डीबी थापाले पनि जनसभालाई सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement