गान्तोक: राज्यका मुख्यमन्त्री एवम एसकेएम पार्टीका अध्यक्ष प्रेम सिंह तामाङले आज साँझ गान्तोक र आरिथाङ निर्वाचन क्षेत्रका व्यापारीहरूलाई लिएर एक समन्वय बैठक आयोजना गरे। व्यापारी मोर्चाको पहलमा राजधानीस्थित एक होटलमा आयोजित कार्यक्रममा गान्तोक निर्वाचन क्षेत्रका उम्मेदवार दिले नामग्याल बरफुङपा, आरिथाङ निर्वाचन क्षेत्रका उम्मेदवार अरूण कुमार उप्रेती, अप्पर तादोङ निर्वाचन क्षेत्रका उम्मेदवार जीटी ढुङ्गेल र लोकसभाका उम्मेदवार डा. इन्द्र हाङ सुब्बाको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले गान्तोक निर्वाचन क्षेत्रका जनताले वर्ष २०१४ देखि नै एसकेएम पार्टीलाई माया गर्दै आइरहेको र आगामी दिनमा पनि यसरी गरिरहने उनले आशा व्यक्त गरे। एसकेएम पार्टीले आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभाको चुनाउ जितिसकेको र भोट त केवल औपचारिकता मात्र रहेको बताए। राज्यका व्यापारी समुदायको शिर खडा गर्न एसकेएम पार्टी साथै सरकारले सबै कसरत पुरा गरेको जानकारी गराउँदै कुनै पनि समुदायलाई मान सम्मान र इञ्जत भन्दा ठूलो कुरा अन्य केही नरहने अवगत गराए। विशेष गरेर गान्तोकको निम्ति अहिले सबै भन्दा ठूलो चुनौतीको विषय ट्राफिक समस्या रहेको र यसमा पनि केन्द्रसँग मिलेर समस्या समाधान गर्नको निम्ति योजना तयार गरिरहेको जानकारी गराए। यसरी नै गान्तोकमा देखिएको सिवरेज र पानी बग्ने नालाको समस्यालाई ध्यानमा राख्दै सरकारले जीएमसीको माध्यमद्वारा काम शुरू गरिसकेको अवगत गराए। सोही प्रकारले धेरै वर्षदेखि थाँतीमा रहेको ठाकुरबाडी मन्दिरको निर्माण कार्य पनि एसकेएम पार्टी सरकारमा आउनसाथ पुरा गरिदिएको उनले किटान गरे। पूर्व सरकारले उक्त मन्दिरलाई लथालिङ्ग अवस्थामा छोडेको थियो तर एसकेएम सरकारले गान्तोकबासीको भावनालाई ध्यानमा राख्दै सरकार गठन हुनसाथ मन्दिर निर्माणको निम्ति धनराशि उपलब्ध गराएको जानकारी गराए। अब यस मन्दिर सञ्चालनको निम्ति एक समिति गठन गरिने पनि मुख्यमन्त्री तामाङले जानकारी गराए।
गान्तोकवासीलाई सरकारद्वारा प्रदान गरिने कुनै पनि सहुलियतमा भेदभाव नगरि समानरूपमा वितरण गरिएको मुख्यमन्त्रीले दावी गरे। यसरी २५ वर्षको सरकारले गान्तोकवासीको हितमा कुनै पनि काम नगरेको आरोप लगाए। तर एसकेएम सरकारले पुरानो एसटीएनएम अस्पतालको पछिलो भागमा रहेको जमीनमा स्थानीयहरूको हितलाई ध्यानमा राख्दै पार्कको निर्माण गरेको र अहिले स्थानीयहरूले उक्त पार्कको लाभ उठाउन सक्षम बनेको जानकारी गराए। अब सो पार्क परिसरमा फिजियोको पनि प्रबन्धन गरिने उनले आश्वासन दिएका छन्।सरकारले चाहेको भए उक्त जमीन कुनै पनि मन्त्री साथै पार्टीका कार्यकर्ताहरूलाई दिन सक्थ्यो तर सरकारले गान्तोकबासीको समस्यालाई ध्यानमा राख्दै उक्त स्थानमा पार्क निर्माण गर्ने निर्णय लिएको उनको भनाइ रहेको थियो।
यस कार्यक्रमलाई आरिथाङ निर्वाचन क्षेत्रका उम्मेदवार अरूण उप्रेती, अप्पर तादोङ निर्वाचन क्षेत्रका उम्मेदवार जीटी ढुङ्गेल, गान्तोक निर्वाचन क्षेत्रका उम्मेदवार दिले नामग्याल बरफुङपा र लोकसभा उम्मेदवार इन्द्र हाङ सुब्बाले पनि सम्बोधन गरेका थिए।









