गान्तोक शहरलाई ग्रीन सिटीमा रूपान्तरण गर्ने एसडीएफको कार्यक्रम

n6002295141713108961738c83ec0f56c067a8740ec4b8e539fbdeb8bb748bb903f9e7c3a78fc52b6a01802.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ ) अध्यक्ष पवन चामलिङले आगामी सरकारमा गान्तोक शहरलाई ग्रीन सिटीमा रूपान्तरण गर्ने बताएका छन्।

उनले भने, गान्तोकमा जति पनि खाली जमीनहरूलाई छन्, तिनलाई ग्रीन स्पेस बनाउनेछौं अनि गान्तोकलाई हामी ग्रीन सिटी बनाउनेछौं।

आइतवार गान्तोकमा एसडीएफ पार्टीको चुनावी जनसभालाई सम्बोधन गर्दै एसडीएफ नेता चामलिङले भने, हामी सरकारमा आएपछि गान्तोकमा हाइड्रोलिक कार पार्किङ बनाउनेछौं, केबल कार बनाउनेछौं, आवश्यक परेका ठाउँमा ओभरहेड ब्रीजहरू बनाउनेछौं।

आइतवार एसडीएफ पार्टीको चुनावी जनसभामा स्यारी, अपर तादुङ, आरिथाङ, गान्तोक अनि अपर बुर्तुकका जनतालाई सम्बोधन गर्दै चामलिङले सिक्किमको विकास, शान्ति सुरक्षा र सिक्किम बचाउन एसडीएफलाई मतदान गर्न अपील गरे। उनले गान्तोकका व्यापारीले एसडीएफ सरकारकालमा देशकै सबैभन्दा स्वच्छ शहरमा व्यापार गर्ने अवसर पाएको उल्लेख गर्दै सिक्किमका सबै शहर बजारहरूलाई एक्टिभ सिटी बनाउने बताए।

उनले भने, भारतको पहिलो एक्टिभ सिटी सिक्किममा हुनेछ। उनले गान्तोकको रीज पार्कलाई एमजी मार्गजस्तै बनाउने, सिक्किमका जम्मै बजारहरूमा वाटर गार्डन, फाउण्टेन भएको ब्लु सिटी बनाउने, बजारका जम्मै तार, केबललाई अण्डरग्राउण्ड गरेर जापानजस्तै बनाउने, गान्तोक बजार राति बाह््र बजीसम्म खुल्ला, झलमल्ल र सुरक्षित बनाउने घोषणा गरे।

उनले भने, व्यापारीहरूलाई सबैभन्दा बढी शान्ति, सुरक्षा, इज्जत-सम्मान चाहिन्छ, त्यो हामी दिलाउनेछौं। पुराना व्यापारीलाई अधिकार दिनेछौं अनि व्यापारको आयतन बढ़ाइदिनेछौं। यसका लागि गुड गवर्नेन्स चाहिन्छ, त्यो हामी दिनेछौं। उनले भने, एसकेएमले बाहिरका व्यापारीहरूलाई यहाँ ल्याएर शपिङ मलहरू खोलाएर यहाँका पुराना व्यापारीको व्यापार खोसेको छ, तर हामी सिक्किमका पुराना व्यापारीहरूको अधिकार सुरक्षित गर्नेछौं।

उनले भने, हामी सरकारमा आएपछि सबैभन्दा पहिला राज्यको कानून-व्यवस्था ठीक पार्नेछौं अनि विधिको शासन स्थापना गर्नेछौं। उनले भने, हाम्रो सरकार आएपछि पुलिस, मुख्यमन्त्री आदि कसैसँग डराउनुपर्दैन केवल कानूनसँग र भगवानसँग डराउनुपर्नेछ। उनले बालुवाखानीमा, ताथाङचेन र डेवलपमेण्ट एरियामा सामुदायिक भवन बनाउने, जीएमसीमा टिबेटन र मुसलमानलाई सीट दिने, देउरालीमा बिहारी भवन बनाउने आदि घोषणाहरू पनि गरे।

सरकारी कर्मचारीहरूले जुलाई २०२३ देखि डीए नपाएको, दुई महिनादेखि पेन्सन नपाएको अनि अस्थायी कर्मचारीहरूले तीन महिनादेखि वेतन नपाएको उल्लेख गर्दै श्री चामलिङले एसकेएमले सिक्किम बर्बाद बनाएको आरोप लगाए।

कार्यक्रमलाई अपर तादोङ क्षेत्रका एसडीएफ उम्मेदवार डा. सीबी छेत्री, स्यारी क्षेत्रका उम्मेदवार तेञ्जिङ नर्बू लाम्था, गान्तोकका एसडीएफ उम्मेदवार पिञ्चो छोपेल लेप्चा, आरिथाङ समष्टिका उम्मेदवार आशिष राई, अपर बुर्तुकका उम्मेदवार डीबी थापा र लोकसभा उम्मेदवार पीडी राईले पनि सम्बोधन गरेका थिए।

जनसभालाई चेली मोर्चा उपाध्यक्ष सकुन गुरुङ, वरिष्ठ उपाध्यक्ष केटी ग्याल्छेनले पनि सम्बोधन गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement