तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फँडानी रोक्न माग

IMG-20240413-WA0002

देवेन्द्र क्षेत्री

झापा, (नेपाल): पूर्वीनेपालअन्तर्गत संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले  क्षेत्रभित्र गुराँस वन फँडानी रोक्न स्थानीयले माग गरेका छन्। तीनजुरे मिल्के जलजले  क्षेत्रभित्र गुराँस वन फँडानी रोक्न माग गर्दै दुईवटा सामुदायिक वनले जिल्ला प्रशासन कार्यालय संखुवासभामा ज्ञापनपत्र बुझाएका छन्। नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको छ। तीनजुरे मिल्के जलजले  क्षेत्रका तीनजुरे हात्तीसार सामुदायिक वन र पाथिभरा सामुदायिक वन क्षेत्रमा कोशी करिडोरले जथाभावी गुराँस फडानी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभामा ज्ञापनपत्र बुझाएका हुन्। कोशी करिडोरले प्रसारण लाइनका निम्ति २०७७।०७८ सालमा भएको सम्झौतामा ६२९ रूख कटान गर्ने अनुमति भए पनि विनासम्झौता हजारौँ गुराँसका बोट फँडानी गरेको हात्तिसार सामुदायिक वन उपभोक्ता समितिका सदस्य लालसिं मोक्तानले बताए।

कोशी करिडोर २२० केभी प्रसारण लाइन निर्माणका क्रमका बिनाअनुमति डोजर लगाएर र रूख काटेर गुराँस वन फँडानी गरेको भन्दै उपभोक्ताले आपत्ति जनाएका हुन्। टीएमजे क्षेत्रभित्र गुराँसबाहेक अन्य प्रजातिका वनस्पति साना र पोथ्रा मात्र छन्। ‘गुराँस’को राजधानी भनेर चिनिने यो क्षेत्रको संरक्षणका लागि आएका गैरसरकारी संस्थाहरूले समेत प्रभावकारी काम गर्न नसक्दा गुराँस नासिने अवस्थामा पुगेको छ। धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण यो क्षेत्र कोशी प्रदेशकै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास भइरहेको छ। तेह्रथुमको तीनजुरे, संखुवासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर टिएमजे संरक्षित क्षेत्र बनेको छ। यो क्षेत्रलाई तीन जिल्लाको संगमस्थलको रूपमा समेत चिनिन्छ। यसकारण पनि यो क्षेत्रको संरक्षण गर्ने दायित्व तीनवटै जिल्लाका वन कार्यालय, सरोकारवाला र स्थानीय बासिन्दाको हो। पदयात्राका लागि रमणीय यो क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनि हजारौँ पर्यटक आउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement