४ अगस्त: टिस्टा खेलकुद समिति (Teesta Khelkud Samiti)-को तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा बिहीवार दोस्रो राउण्डको पहिलो दुईवटा म्याच खेलियो। स्थानीय टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा आज भएको पहिलो म्याचमा ३ ब्लक एफसी-ले गोल्डन बोज टिस्टालाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा टिस्टा हाई स्कूलले अपेक्षा (Apeckcha) एफसी (सेभोक)-लाई ५-२-ले पराजित गऱ्यो। गत २५ जुलाईदेखि शुरु भएको यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजय कार्कीले जनाएका छन्।