स्यारीमा भइरहेको पैसाको चलखेलमाथि चुनाउ सकिएको भोलिपल्ट नै जाँच गराउनेछुः गोले
गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राजधानी गान्तोकको गार्ड्स ग्राउण्डमा पार्टीको एउटा चुनावी जनसभालाई सम्बोधन गरे। स्यारी, गान्तोक र तादोङ समष्टिका लागि आयोजित यस चुनाउ प्रचार कार्यक्रम “विजय भवः जनसभा”-मा तीनैवटा समष्टिका उम्मेद्वार क्रमैले कुङ्गा निमा लेप्चा, दिले नामग्यल बर्फुङ्गपा र जीटी ढुङ्गेलको साथमा बहु सङ्ख्यामा पार्टी कार्यकर्ता एवं समर्थकहरूको पनि उपस्थिति रहेको थियो। यसरी नै जनसभामा एसकेएम पार्टीका लोकसभा उम्मेद्वार इन्द्र हाङ सुब्बाको पनि विशेष उपस्थिति रहेको थियो।
जनभेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले स्यारी क्षेत्रमा सिक्किम क्रान्तिकारी मोर्चाको जीत निश्चित भइसकेको दावी गर्दै प्रतिपक्षीहरूले अब जति नै जोर लगाए पनि कुङ्गा निमा लेप्चालाई हराउन नसक्ने दावी गरे। यसको साथै उनले क्षेत्रका मतदाताहरूलाई अन्य पार्टीका उम्मेद्वारहरूलाई मतदान गरेर आफूलाई नै नोक्सान गर्ने काम नगर्ने अपील पनि गरे। राज्यका अन्य समष्टिहरूमा एसकेएम पार्टीले निश्चित रुपमा जित्ने र दोस्रोपल्ट सरकार गठन गर्ने दावी गर्दै यस्तोमा यदि स्यारीमा एसकएम पार्टी हारेको खण्डमा नोक्सानी स्यारीकै जनतालाई हुने उनको भनाइ रहेको छ। उल्लेखनीय छ, स्यारीमा पछिल्ला पाँच वर्ष एसकेएम पार्टीकै सदस्य रहेका अनि अहिले सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीबाट चुनाउ लड़िरहेका तेञ्जिङ नर्बु लाम्थाले एसकेएम उम्मेद्वारलाई कड़ा चुनौती दिइरहेका छन्। एसकेएम पार्टीको चुनाउ प्रचार कार्यक्रम विजय भवः जनसभा स्यारी समष्टिको लागि दुईपल्ट आयोजना गरिएकोले यस कुरालाई पुष्टि गर्नेगर्छ।
मुख्यमन्त्री तामाङले कुनै प्रतिपक्षीको नाम नलिकन स्यारी क्षेत्रमा चुनाउको समय धेरै पैसा बाँड़ने काम भइरहेको खुलासा गरेका छन्। चुनाउ सकिको भोलिपल्टै यसको जाँच गराउने उनले आफ्नो सम्बोधनमा बताए। चुनाउ सक्नु दिनु। चुनाउ सकिएको भोलिपल्ट नै त्यो पैसा कहाँबाट चल्यो, कसरी चल्यो, कुन ब्याङ्कबाट चल्यो अनि कसरी त्यो पैसा खर्च भयो त्यसको जाँच गरिनेछ, उनले भने। १९ अप्रेलको दिन चुनाउ हुने र भोलिपल्ट २० अप्रेलदेखि नै काम शुरु गर्ने मुख्यमन्त्री तामाङले बताए। यो पैसा के भनेर लगिएको थियो, केमा प्रयोग भयो, युटिलाइजेशन सर्टिफिकेट दिनुपर्नेछ। हामीले माया नगरेको होइनौं। धेरै माया गरेका हौं। तर त्यही माया उल्टा पार्नु हुँदैन, उनले भने। यसको साथै अन्य पार्टीबाट जितेर आउने विधायकहरूलाई एसकेएम पार्टीमा नलिने पनि मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा बताए। स्यारी साथै अन्य केही क्षेत्रका विपक्षी उम्मेद्वारहरूले जितेपछि एसकेएम पार्टीमा नै जानेछु भन्दै मतदाताहरूलाई दिग्भ्रमित पारिरहेको उनले बताए। मुख्यमन्त्रीले पछिल्ला पाँच वर्षमा धेरै काम भएको पनि दावी गरे।
यसरी नै स्यारीका उम्मेद्वार कुङ्गा निमा लेप्चाले पनि पछिल्लो पाँच वर्षमा धेरै काम भएको बताए। तर, अहिले चुनाउको समय विपक्षीहरूले एउटै काम भएको छैन भन्दै आफू र एसकेएम पार्टीको सरकारलाई बद्नाम गर्ने कोशिश गरिरहेको बकाए। यसको साथै यदि कसैले आफूले वित्तीय हिनामिना गरेको आरोप लगाउँछ भने त्यसलाई प्रमाणित गर्नुपर्ने नत्र कानुनी कार्यवाही गर्ने चेताउनी पनि दिए।
कार्यक्रमलाई लोकसभा उम्मेद्वार इन्द्र हाङ सुब्बा र हिजै मात्र सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टील त्यागेर एसकेएम-मा सामेल भएका पूर्व मन्त्री ओटी भोटियाले पनि सम्बोधन गरे भने केही परिवारले अन्य विपक्षी पार्टी त्यागेर एसकेएम-मा सामेल भए।










