नेपाल पुलिसको सफलता: ६ हजार ४२ जना हराएका मानिस फेला

Web-Post

काठमाडौं: बालक हुन वा वृद्ध कुनैपनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अन्जानमा मानिसहरू हराउने गरेका छन्। घरपरिवारबाट अचानक सम्पर्कवीहिन हुने गरेका छन्। जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन्। आफ्ना प्यारा सदस्य हराएको पीडाको खबर सुन्दा सबैलाई दुःख लाग्छ। यही दुखद पीडापछि मानिसहरू पुलिसलाई सम्झछन् र खोजीका लागि अनुरोध गर्दछन्। यसरी सूचना प्राप्त हुनासाथ खोजी गर्ने क्रममा हराएका मध्ये सिन्धुपाल्चोकका ८ वर्षीय बालकलाई काठमाडौं ढुंगेअड्डामा पुलिसले फेला पार्यो।

उनलाई भ्वाइस अफ चिल्ड्रेन ललितपुरमा संरक्षणका लागि पठाइयो। यसैगरी धनुषाकी १४ वर्षीया बालिका कोही कसैलाई जानकारी नगराई घरबाट गत २५ अक्टोबर (कात्तिक ८ गते) हराई बेपत्ता भएको खबर प्राप्त भयो। तत्काल खटिएको पुलिसले हुलियाका आधारमा खोजी गर्दा जनकपुरधाममा फेला पारी उनकी आमालाई जिम्मा लगायो। यसैगरी धनुषाकै २१ वर्षीया किशोरी जानकारी बिना नै गत १४ फरवरी (फागुन २ गते) हराई बेपत्ता भइन्। पुलिसले खोजी गर्ने क्रममा क्षिरेश्वरनाथमा फेला पार्न सफल भयो। उल्लेखित मानिसहरू बाहेक यसरी खोजी गर्ने क्रममा अन्यलाई समेत पुलिसले फेला पारेको छ। पुलिस खोजी तथा उद्दारमा जुट्ने क्रममा चालू आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन्।

ती मध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९ जना महिला, ७२७ जना बालक, १ हजार ६ सय जना बालिका र ९७ जना जेष्ठ नागरिक रहेका छन्। फेला परेका मानिसहरू मध्ये काठमाडौं उपत्यकाबाट १ हजार २७२ जना, कोशी प्रदेशबाट १ हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन्। सो अवधिमा १० हजार ४९ जना मानिस हराएका थिए। हराएका मध्ये ३ हजार ३७९ जना पुरूष र ६ हजार ६७० जना महिला रहेका छन्। हराएका मानिसहरूको खोजी तथा उद्दारपछि परिवारसँग पुनर्मिलन गराउने गरिएको छ। पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा संरक्षणका लागि जिम्मा लगाउने गरिएको छ।

मानिस हराएपछि थपिएका पीडा हटाउन पुलिस सदैव सक्रिय रहँदै आएको छ। खोजी तथा उद्दारका लागि पुलिसले विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा काम गर्ने गरेको छ। खोजी सम्बन्धमा नेपाल पुलिसका केन्द्रीय पुलिस प्रवक्ता पुलिस नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन,‘अन्जान वा लापरवाहीले अप्ठ्यारोमा परेकाको खोजी तथा उद्दार गर्नु मानवीय कार्य हो। नागरिकको जीवन रक्षाको काम गर्ने पुलिस संगठनले दुःखमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तिब्रता अपनाएको छ। खोजी मात्रै होइन मानिस के कारण हराउँछन्? यस्तो अवस्था आउँन नदिन सचेतना फैलाउने, सम्झाउने र पुनःघटना दोहोरिन नदिन वातावरण सिर्जना गर्न पनि पुलिसको पहल रहने छ।’

 हराएका मानिसहरूको विवरण राख्न नेपाल पुलिसले वेबसाइटको व्यवस्था गरेको छ। पुलिस महानिरीक्षक बसन्त बहादुर कुँवरले उक्त वेबसाइटको गत ३ सेप्टेम्बर (भदौ १७ गते) उद्घाटन गरेका थिए। तत्पश्चात वेबसाइटमा विवरण राख्न र हराएका व्यक्ति सनाखत गर्न सहज भएको छ। सरोकारवाला सबैले एकै स्थानबाट सूचना पाएपछि खोजीमा सक्रियता अपनाउन, पहिचान गर्न र उद्दार गर्न सजिलो भएको छ।

आर्थिक वर्ष २०७१÷०७२ देखि हालसम्म ३६ हजार ९८५ जना हराएका मानिस फेला परेका छन्। ती मध्ये ११ हजार ३५९ जना पुरूष र २५ हजार ६२६ जना महिला रहेका छन्। सो अवधिमा ९३ हजार ६९१ जना मानिस हराएका थिए। हराएका मध्ये २८ हजार ६९० जना पुरूष र ६५ हजार १ जना महिला रहेका छन्। तथ्याङ्क विश्लेषण गर्दा सबै भन्दा महिला हराउने गरेको देखिन्छ। हराएका व्यक्ति खोजी गर्न नेपालभर नेपाल पुलिसका सबै युनिटहरू सक्रिय छन्। जंगलमा हराएकालाई साइरन बजाउँदै र ठूलो स्वरमा कराउन लगाउँदै खोजी गर्ने गरिएको छ। भौगोलिक अवस्था र परिस्थिति अनुसारको खोज तरिका अपनाउने गरिएको छ। लोकेशन थाहा पाउन प्रविधिको प्रयोग र अन्य विभिन्न तरिका अवलम्बन गर्ने गरिन्छ।

खतराको अवस्थालाई आँकलन गरी सुरक्षा अपनाउने गरिएको छ। आफू जोगिएर खोजी तथा उद्दार गर्न पुलिस सचेत छ। खोजी तथा उद्दार सम्बन्धमा जिल्ला पुलिस कार्यालय धनुषाका प्रमुख पुलिस उपरीक्षक भुवनेश्वर तिवारी भन्छन् ‘हराएका मानिसहरू खोजी गर्न पुलिस गस्ती बढाइएको छ। सूचना संकलन, प्रविधिको प्रयोग, सशक्त रूपमा पुलिस परिचालन, सम्बन्धित पुलिस कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय लगायतका गतिविधि गरी सक्रिय रूपमा खोजी गर्ने गरिएको छ। पुलिस र आफन्तको संयुक्त प्रयासबाट समेत तदारूकताका साथ खोजी हुने र हराएका मानिस फेला पर्ने गरेका छन्।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *