सिलगढी: म धेरै समयदेखि प्रचारमा निस्किएको छु। मलाई राम्रो लागिरहेको छ। किनभने यहाँ मानिसहरू भाजपाको झूटको राजनीति अनि तृणमूलको भ्रष्टचार र अत्याचारबाट वाक्क भइसकेका छन्। सबैले परिवर्तन चाहन्छन्
भनी दार्जीलिङ संसदीय आसनका कंग्रेसको प्रार्थी मुनिष तामङले बताएका छन्। आज चुनाउ प्रचारको क्रममा तामाङ नक्सलबारी क्षेत्र पुगेका थिए। यस अवसरमा उनले दोकान-दोकान घुम्दै भोट अपील गरे भने जनतासँग भेटघाट गर्दै यसपालीको लोकसभा चुनाउमा कंग्रेसलाई भोट दिने अपील गरे। यस अवसरमा माकपा नेता समन पाठक पनि मुनिष तामङको साथमा थिए। चुनाउ प्रचारको क्रममा पत्रकारहरूसँग बोल्दै तामाङले हामी जनताको मुद्दासँग जोडिएर काम गर्न चाहन्छौँ भनी बताए। चुनाउ प्रचारका लागि कम समय प्राप्त भएको प्रश्नको उत्तर दिँदै तामङले आफूहरू ढिलो आए पनि तर दुरुस्त आएको तर अरू छिटो आए पनि सुस्त आएको बताउँदै उनीहरूसँग कुनै मुद्दा छैन केवल नारा छ, तर आफूहरूसँग मुद्दा छ र जनतासँग जोडिने तरिका छ भनी बताए। जनताबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेको बताउँदै यसपालि दार्जीलिङ आसन कंग्रेसले जित्ने कुरामा आफूहरू विश्वस्त रहेको तिनले बताए। कसलाई ठुलो प्रतिस्पर्धी सम्झिनु हुन्छ भनेर सोधेको प्रश्नको उत्तरमा तामङले टीएमसी र बीजेपी दुवै जनविरोधि ताकतलाई हराउने मन्तव्य पोखे। भाजपाले केवल झुट मात्र बोलिरहेको आरोप लगाउँदै तामङले आफूहरू जनताको मुद्दालाई लिएर अघि बढ्ने बताए।










