झापा: चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी) ले गरेको छ। एडीबीले सार्वजनिक गरेको एसियाली विकास परिदृश्य (एसियन डेभलपमेन्ट आउटलुक) २०८० ले यस्तो प्रक्षेपण गरेको हो। यो प्रक्षेपण गत आर्थिक वर्षको अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो। दुई साताअघि मात्र विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सरकारका अन्य मन्त्रीले नेपालको आर्थिक वृद्धि ५ प्रतिशतभन्दा बढी हुने दाबी गरिरहेका बेला विश्व बैंक र एडीबीको परिमार्जित प्रक्षेपण सार्वजनिक भएको हो। विश्व बैंक र एडीबीको प्रक्षेपण चालु आर्थिक वर्षमा सरकारको लक्ष्यभन्दा करिब साढे २ प्रतिशत बिन्दुले कम हो। सरकारले यस वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य तय गरेको छ। सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर साढे चार प्रतिशतभन्दा धेरै हुने प्रक्षेपण यी निकायले गरेका छन्। सन् २०२५ मा विश्व बैंकले ४.६ प्रतिशत र एडीबीले ४.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेका छन्।‘मौद्रिक नीति क्रमिक रूपमा लचिलो बन्दै गएकाले उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधार आउन थालेको छ, सरकारले पुँजीगत खर्च वृद्धिमा तीव्रता दिएकाले अब आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ,’ नेपालका निम्ति एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने, ‘यसका अतिरिक्त, चालु आर्थिक वर्षको अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु हुने भएकाले औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ।’कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आय बढ्दै गएकाले सेवा क्षेत्रको वृद्धिले पनि गति लिने एडीबीको अनुमान छ। धान उत्पादनमा वृद्धि भए पनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि २.८ प्रतिशतको वृद्धि हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रमा २.७ प्रतिशतको वृद्धि थियो। चालु आर्थिक वर्षमा पेट्रोलियमको मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फीति न्यूनीकरणसँगै नेपालमा औसत मुद्रास्फीति ६.५ प्रतिशतमा झर्ने एडीबीको प्रक्षेपण छ। यो चालु आर्थिक वर्षमा सरकारले राखेको मुद्रास्फीतिको लक्ष्य बराबर नै हो। गत वर्ष यस्तो मुद्रास्फीति ७.७ प्रतिशतको रहेको एडीबीले जनाएको छ।बाह्य क्षेत्र जोखिम सापेक्ष रूपमा नियन्त्रणमा रहेको एडीबीको भनाइ छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चालु खाता बचतमा रहे पनि पुनः घाटामा जान सक्ने एडीबीको अनुमान छ। ‘अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा यस वर्षको सोही अवधिमा वार्षिक व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ। सो अवधिमा चालु खाता बचत १.२ विलियन अमेरिकी डलर पुगेको छ,’ एडीबी भन्छ, ‘यद्यपि, यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर रेमिट्यान्स आप्रवाहले यस वर्ष चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ०.७ प्रतिशत पुग्ने प्रक्षेपण छ।’विश्व अर्थतन्त्रमा देखा पर्न सक्ने शिथिलताले नेपालको पर्यटन र रेमिट्यान्स आप्रवाहमा प्रभाव पर्न सक्ने भएकाले यस वर्ष आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको एडीबीका प्रमुख अर्थशास्त्री इयान हासिनले बताए। गहिरिँदो भूराजनीतिक हलचलले आपूर्ति शृंखलामा हुन सक्ने अवरोधले विश्वव्यापी मुद्रास्फीति र वित्तीय अवस्थामा कडाइ सिर्जना गर्न सक्छ,’ उनी भन्छन्, ‘यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धिलाई तल धकेल्न सक्छ। ’गरिबी निवारणमा आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया–प्रशान्त क्षेत्र हासिल गर्न आफू प्रतिबद्ध रहेको पनि एडीबीले जनाएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ। गत साता सार्वजनिक गरेको दोस्रो त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनले यस्तो देखाएको हो। पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान कार्यालयले गरेको थियो। अर्थतन्त्रका १८ वटा औद्योगिक वर्गीकरणमध्ये गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १७ वटाको मूल्य अभिवृद्धि सकारात्मक रहेको कार्यालयले जनाएको छ। यसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै २९.३ प्रतिशत र विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर १७.१ रहेको प्रतिवेदनमा उल्लेख छ। यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै यातायात तथा भण्डारण क्षेत्रले १४.३ प्रतिशत वृद्धिदर कायम गरेको छ। गत वर्षको तुलनामा यस वर्षको दोस्रो त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर ०.४ प्रतिशतले ऋणात्मक रहेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ।









