पर्यटन राजधानी पोखराः जाग्दै आशा, बढ्दै लगानी

IMG-20240412-WA0274.jpg

झापा: अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन्। बहत्तरको भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्मले तहसनहस बनाएको यहाँको पर्यटनमा आगामी दिनका लागि आशाका किरण चम्किन थालेको महसुस भएको छ। पोखरामा पर्यटनलक्षित पूर्वाधार विकासकै क्रममा हालसम्म रू छ खर्बभन्दा बढी लगानी भइसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको अनुमान छ। उनका अनुसार समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा रू सात खर्बभन्दा बढीको लगानी छ।निर्माणाधीन सडक पर्यटकका लागि चुनौतिपूर्ण भइरहे पनि चाँडै नै यी सडकले पूर्णता पाउने आशामा यहाँका व्यवसायी छन्। काठमाडौँमा आएका विदेशी पर्यटकमध्ये लगभग ५० प्रतिशत पोखरामा आउने गरेका अध्यक्ष श्रेष्ठले जानकारी दिए। पोखराको पर्यटनमा गण्डकी प्रदेशको ‘आन्तरिक भ्रमण वर्ष, २०१९’ र नेपाल सरकारको ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई लक्षित गरी ठूलै लगानी थपिएको यहाँका व्यवसायी बताउँछन्। तत्कालीन समयमा सरकारले पनि लगानी थप्नका निम्ति आह्वान गरेअनुसार लगानी थपेका व्यवसायी त्यसलगत्तै आएको कोरोना महामारीका कारण ठूलो सङ्कटमा परेका अध्यक्ष श्रेष्ठले बताउछन ।पूर्वाधारमा लगानी थप्दै गएका अवस्थामा एकाएक रूपमा देखापरेको कोरोना महामारीले यहाँको पर्यटन व्यवसायलाई नराम्रोसँग थला पारेको थियो। कोरानाले थला पारेको पर्यटन विस्तारै पुरानै लयमा फर्कने आशा पलाएको बताउँदै उनले अङ्ग्रेजी नयाँ वर्ष र त्यसयता देखिएको उत्साहले अब भने यहाँको पर्यटन पूर्ववत् अवस्थामा नै फर्कने अपेक्षा गरिएको बताए।पोखराको पर्यटनलाई चलायमान बनाउन यहाँका पर्यटनसम्बद्ध सङ्घसंस्थाले प्रवर्द्धनका गतिविधि निरन्तर गरिरहेका श्रेष्ठले बताए। पछिल्ला समयमा भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढिरहेको बताउँदै उहाँले पोखरा–मुग्लिन सडकको निर्माणाधीन अवस्थाका कारण आवतजावतमा कठिनाइका बीच पनि भारतीयहरू ठूलै सङ्ख्यामा पोखरा आइरहेका उनले जानकारी दिए।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेसँगै ठूलो सङ्ख्यामा भारतीय पर्यटक आउने क्रम बढेकामा कोरोनासँगै भारतीय पर्यटकको आगमन पनि प्रभावित बनेको थियो। पछिल्ला समयमा भारतीय पर्यटकको आगमन पनि उत्साहजनक रूपमा नै बढ्दै गएको छ। बाटोका विद्यमान असहजताका बीच पनि भारतीय पर्यटक आफ्नै सवारीसाधन लिएर पनि पोखरा आउने गरेका छन्।नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै पर्यटन क्षेत्रमा लगानी गर्न गरेको आग्रहसमेतका कारण पोखराका होटलमा पूर्वाधार थप गर्न तत्कालीन समयमा यहाँका व्यवसायीले ठूलै लगानी बढाएका होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।सन् २०१९ मा गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष घोषणा र सन् २०२० मा सङ्घीय सरकारको नेपाल भ्रमण वर्ष घोषणाले व्यवसायीलाई लगानीका लागि हौस्याए पनि लगत्तै आएको कोरोना महामारीले त्यसपछिका दुई वर्ष पर्यटन शून्यतामा झर्दा व्यवसायी गम्भीर समस्यामा परेका उनको भनाइ छ। भ्रमण वर्षको घोषणायता हालसम्म पोखरामा थप रू एक खर्बभन्दा बढी पर्यटन क्षेत्रमा लगानी भइसकेको उनले जानकारी दिए।सन् २०१९ मा १२ लाख ६० हजारको सङ्ख्यामा विदेशी पर्यटक आउनुले पनि तत्कालीन समयमा व्यवसायीले ठूलै आशाका साथ लगानी बढाएका उनको भनाइ छ। सन् २०२० र २०२१ मा ठप्प भएको विदेशी पर्यटक आगमन सन् २०२२ मा भने करिब चार लाख ५० हजार आएको तथ्याङ्क छ। सन् २०२३ मा १० लाख पर्यटक भित्रिएकामा अङ्ग्रेजी नयाँ वर्ष र त्यसयता देखिएको आगमनले आगामी दिनमा पर्यटकको आगमन बढ्ने विश्वास लिइएको सुवेदीले बताए।भारतीय पर्यटक अधिकांशतः धार्मिक रूपमा पोखरा आउने गर्दछन्। पोखरा हुँदै मुक्तिनाथको दर्शन गरेर फर्कने भएकाले पनि मुक्तिनाथ आउँदा जाँदा उनीहरूले पोखरामा केही दिन बिताउने गर्दछन्। पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, पुनहिल, घोरेपानी, मिलेनियम ट्रेकलगायत स्थानमा पर्यटक जाने भएकाले यी सबै पर्यटकीय गतिविधिले पोखराको पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा देखिएको स्वदेशी एवं विदेशी पर्यटकको आगमनले आउदो दिनमा यहाँको पर्यटन व्यवसाय पुरानै गतिमा फर्कने विश्वास लिइएको छ। यहाँको पर्यटकीय सम्भावनालाई थप उजागर गर्न पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुले विशेष योगदान गर्ने अपेक्षा गरिएको छ। पर्यटकीय राजधानी घोषणासँगै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका साथ अघि बढ्ने सरकारको योजना छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उडानसँगै त्यससँग जोडिएका पूर्वाधार निर्माणलगायतका विषयलाई अघि बढाउने तयारी छ। लेकसाइड र ड्यामसाइड क्षेत्रमा मात्रै सात सयको सङ्ख्यामा पर्यटकस्तरीय होटल रहेका होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीले जानकारी दिए। उनका अनुसार पोखरा र आसपासमा गरी कुल एक हजार दुई सय होटलका साथ ४० हजार बेड सङ्ख्या रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement