यस हारलाई पचाउनु गाह्रो छः डू प्लेसिस

IMG-20240412-WA0101.jpg

मुम्बई: आईपीएल २०२४-मा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-ले आफ्नो पाँचौं हारको सामना गर्नु पऱ्यो। बिहीवार राति वानखेड़े स्टेडियममा आरसीबी-ले १९७ रनको लक्ष्य दिए पनि मुम्बई इण्डियन्सले त्यसलाई फुच्चे साबित गर्दै १५.३ ओभरमै म्याच जित्यो। यस हारपछि निराश देखिएका आरसीबी-का कप्तान फाफ डू प्लेसिसले हारका कारणहरूबारे चर्चा गरे। म्याचपछि उनले भने, यस हारलाई पचाउनु गाह्रो छ। यसको निम्ति म दुईवटा कारण देख्छु। शीतले गर्दा मैदान भिजेको थियो। यसैकारण टस जित्नु जरूरी थियो। यसबाहेक उनीहरूले साँच्चै असल प्रदर्शन गरेर हामीमाथि दबाउ सृष्टि गरे। यसैकारण हामीले केही गल्तीहरू (विशेषगरी पावरप्ले-मा) गऱ्यौं। म्याचमा शीत कारक बन्ने सक्ने हामीलाई थाहा थियो। यसैकारण २१०-२१५-को स्कोर असल रहने थियो तर उनीहरूले १९६ रनलाई फुच्चे साबित गरे। हामीले ब्याटको साथ केही तरिका खोज्नु पर्नेछ अनि ठूलो स्कोर बनाउनु पर्नेछ। बलिंग हाम्रो मजबूत पक्ष नरहेको हामीलाई थाहा छ। यसैकारण ब्याटरहरूले निरन्तरता देखाउनु जरूरी छ।
म्याचको कुरा गर्दा टस हारेर पहिला ब्याटिंग गर्ने आरसीबी-ले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनायो। विराट कोहली (०३), विल ज्याक (०८), ग्लेन म्याक्सवेल (शून्य) र महिपाल लोमरोर (शून्य)-ले निराश गरे पनि आरसीबी-लाई कप्तान डू प्लेसिस (६१), दिनेश कार्तिक (अविजित ५३) र रजत पाटीदार (५०)-को अर्द्धशतकले सम्हाल्यो। डू प्लेसिसले ४० बल खेलेर ४ वटा चौका र ३ वटा छक्का लगाए जबकि कार्तिकले अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाउँदै २३ बल खेलेर ५ वटा चौका र ४ वटा छक्का लगाए। यसरी पाटीदारले पनि मध्यक्रममा २६ बल खेलेर ४ वटा छक्का र ३ वटा चौका लगाए। मुम्बई इण्डियन्सका बलरहरूमा जसप्रीत बुमराहले ४ ओभरमा २१ रन खर्च गरी ५ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले ईशान किशन (६९) र सूर्यकुमार यादव (५२)-को विध्वंशी अर्द्धशतकको सहायताले २७ बल बाँकी रहँदै ३ विकेटमा १९९ रन बनाएर म्याच जित्यो। किशनले ३४ बल खेलेर ७ वटा चौका र ५ वटा छक्का लगाए जबकि सूर्याले केवल १९ बल खेलेर ४ वटा छक्का र ५ वटा चौका लगाए। यी दुई बाहेक रोहित शर्माले ३८, कप्तान हार्दिक पाण्ड्याले अविजित २१ र तिलक वर्माले अविजित १६ रन बनाए। होम ग्राउण्डको फाइदा उठाउँदै मुम्बईका ब्याटरहरूले आरसीबी-का बलरहरूलाई पिट्नसम्म पिटे। रोहितले ३ वटा छक्का र ३ वटा चौका लगाए। यसरी हार्दिकले पनि ३ वटा छक्का लगाए। बुमराहलाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *