गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आउँदो १५ अप्रेलका दिन जोरथाङमा भव्य रूपमा विजयी भवः जनसम्मेलनको आयोजना गर्ने भएको छ। राज्यका ३२ वटै निर्वाचन क्षेत्रका लागि आयोजन भइरहेको सम्मेलनको उक्त दिन समापन हुनेछ। समारोहमा पार्टी अध्यक्ष प्रेमसिंह तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित भई उपस्थित जनभेलालाई सम्बोधन गर्नेछन्। कार्यक्रमको तयारीलाई लिएर आज जोरथाङमा एसकेएम साङ्गठनिक प्रकोष्ठको समन्वय सभा सम्पन्न भयो। विजयी भवः सम्मेलनलाई भव्य सफल बनाउनका लागि विभिन्न विषयमाथि छलफल गर्न र कार्यकर्ताहरूलाई आआफ्नो जिम्मेवारी हस्तान्तरण गर्नका लागि आयोजन गरिएको यस सभालाई वरिष्ठ नागरिक तथा पार्टी कार्यकर्ता बिरेनचन्द्र राईले अध्यक्षता गरेका थिए। सभामा वक्ताहरूले पार्टीको आउँदो कार्यक्रमलाई भव्य सफल तुल्याउन सबैले आआफ्नो पक्षबाट समर्पित रूपमा कार्य गर्नुपर्ने सुझाव राखे। यो सम्मेलन आउँदो चुनावका लागि प्रचारप्रसारलाई लिएर एसकेएम पार्टीको महासम्मेलन हो भने उक्त दिन सबै समष्टिका लागि आयोजन भइरहेको चुनाव प्रचार तथा विजयी भवः जनसम्मेलनको समापन हुनेछ।