४ अगस्तः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर (Honour) कप २०२२-मा रोमाञ्चक जीतको साथ दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-ले फाइनलमा स्थान बनायो । रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत बिहीवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमीले शक्तिशाली दार्जीलिङ पुलिसलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अभिषेक भुजेलले ७३औं मिनटमा दर्ता गरे। डीएसए-का अभिषेक भुजेललाई प्लेयर अव् द म्याच चयन गरियो। अब ७ अगस्तमा खेलिने फाइनलमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) र लंकापाड़ा मिलन क्लब (Lankapara Milan Club)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।