सिक्किम प्रदेश भाजपा-को सङ्कल्प पत्रको लोकार्पण

IMG-20240411-WA0243.jpg

गान्तोक: जतिजति लोकसभा अनि राज्य विधानसभा चुनाउको मिति नजिक आउँदैछ राज्यमा उतिउति राजनीति गर्माउँदै गइरहेको छ। हाल राज्यका सबै क्षेत्रीय पार्टी साथै दुईवटा प्रमुख केन्द्रीय पार्टी आफ्नो सम्पूर्ण शक्ति लगाएर चुनाउको प्रचार प्रसारमा जुटेको छ। यसै क्रममा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले आज राजधानी गान्तोकमा एउटा चुनावी जनसभामा भाग लिएर यसपल्ट सिक्किममा पनि कमल फुलाउने राज्यका मतदाताहरूलाई अपील गरे। चुनावी जनसभामा भाग लिन भनि उनी हिजो नै गान्तोक आइपुगेका थिए। खराब मौसमको कारण सड़क मार्ग भएर केही अबेर गरी गान्तोक आइपुगेका नड्डाले यहाँको एउटा होटलमा हिजो नै राज्यका भाजपा नेताहरू अनि यसपल्टको लोकसभा अनि राज्यसभा चुनाउमा पार्टीका उम्मेद्वारहरूसित एउटा बैठक पनि गरेका थिए।

आज जेपी नड्डा भाजपाका सिक्किम राज्य प्रभारी डा. दिलीप जयसवाल र प्रदेश अध्यक्ष डीआर थापाको साथमा जनसभास्थल मनन केन्द्रमा प्रवेश गर्दा मोदी मोदीको नाराले प्रेक्षागृह गुञ्जयमान भएको थियो। उपस्थित भाजपा समर्थकहरूमा बौद्ध भिक्षुहरूको पनि राम्रै सङ्ख्या रहेको थियो। यसै अवसरमा सिक्किम प्रदेश भाजपाको आगामी चुनाउलाई लिएर घोषणापत्र तथा सङ्कल्प पत्र पनि जारी गरियो। राष्ट्रिय अध्यक्षले अन्य नेताहरूको साथमा घोषणापत्रको विधिवत लोकार्पण गरे। पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले भाजपाको घोषणापत्रमा रोजगारलाई विशेष प्राथमिकता दिइएको बताए। यसरी नै सिक्किम राज्यलाई शिक्षाको केन्द्र बनाउने साथै भ्रष्टाचार र ड्रग्समुक्त सिक्किमको निर्माण पनि घोषणापत्रको प्रुमख बुँदाहरू रहेको उनले बताए। भ्रष्टाचारको बारेमा बल्दै सिक्किम राज्य अहिले भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबेको जसलाई अब केवल भाजपा सरकारले उन्मुक्ति दिन सक्ने दावी गरे। उनको भनाइअनुसार भाजपा सरकारमा आएको खण्डमा भिजिलेन्स र सीबीआइ मार्फत भ्रष्टाचारको जाँच गराउनेछ। यसरी नै पूराना कानूनहरूको सुरक्षा र थाँतीमा रहेका पुराना मागहरू पनि केवल भाजपा सरकारले पूरा गर्ने थापाको भनाइ रहेको छ।

यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाले अब अति भयो भन्दै सिक्किम राज्य देशको मूलधारामा आउनै पर्ने अनि मूलधारा भनेको भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व रहेको बताए। “क्षेत्रीय पार्टी अब बेसी भयो। अब सिक्किमवासीले क्षेत्रीय पार्टीसँगै भ्रष्टाचारलाई पनि गुडबाइ भन्नुपर्छ। हामी तपाईंहरूलाई स्वच्छ, शान्त, जनमुखी र विकासमुखी सिक्किम दिने वचन दिँदछौं। अब क्षेत्रीय पार्टीको दिन गयो”, उनले भने। यसको साथै एसकेएम पार्टीको लोकसभा सांसदले भारत सरकारमा राज्य मन्त्रीको पद पाउनसक्छ भन्ने एसकेएम अध्यक्ष तथा मुख्यमन्त्री प्रेम सिंह तामाङको बयानको पनि नड्डाले ठाड़ो खण्डन गरे। उनले भने, “यहाँ कुनै प्रकारको कन्फ्यूजन नहोस। कसैले भन्दैछ अरे मेरो पार्टीको सांसद मन्त्री हुन्छ भनेर। प्रश्नै उठ्दैन। यदि कोही मन्त्री बनिन्छ भने कमलको फूल बन्नेछ।” सिक्किम राज्यका थातीमा रहेका पुरान मागहरूलाई गम्भिरतासित अघि बड़ाउने पनि उनले बचन दिएका छन्। भारतीय जनता पार्टीलाई राज्यको सत्तामा ल्याएको खण्डमा राज्यका गाउँहरूलाई आधुनिकिकरण गरिने, महिलाहरूलाई सशक्त बनाइने अनि युवाहरूको सबै आकांक्षाहरूलाई पूरा गरिने उनले अझ बताए। यसरी नै भारतीय जनता पार्टीलाई सत्तामा ल्याएको खण्डमा राज्यका किसानहरूलाई देशको मूलधारामा जोड़िनुको साथै पर्यटनको पनि विकास हुने नड्डाको भनाइ रहेको छ।

आधा घण्टाभन्दा लामो आफ्नो सम्बोधनमा जेपी नड्डाले पछिल्ला १० वर्षमा केन्द्रको प्रधानमन्त्री नकेन्द्र मोदी नेतृत्वाधीन सरकारले सिक्किम लगायत पूर्वोत्तर राज्यहरूको कति विकास गरेको छ भन्ने बारेमा विस्तृत रुपमा बताए। जनसभा पछि आज उनी गान्तोकबाट प्रस्थान भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement