सिलगढी: सिक्किम विधानसभाका पूर्व अध्यक्ष, मन्त्री तथा एसडीएफका वरिष्ठ नेता केएन राईले आफूलाई जस्तो प्राणघातक आक्रमण र पीडादायी शारीरिक यातना शत्रुले समेत भोग्न नपरोस् भनी मन्तव्य गरेका छन्। १ मार्चको दिन मल्लीमा एउटा मरौंमा शोकित परिवारलाई समवेदना प्रकट गर्न जाँदा दिनकै उज्यालोमा उनीमाथि प्राणघातक हमला गरिएको थियो। सिकिस्त अवस्थामा पुगेका उनलाई त्यसै राति सिलगढीको एउटा निजी अस्पतालमा रेफर गरियो। अवस्था चिन्ताजनक भएपछि भोलिपल्टै एयर एम्बुलेन्सद्वारा उनलाई दिल्लीको म्याक्सस्थित अस्पतालको सघन चिकित्सा केन्द्रमा पुऱ्याइएको थियो। त्यसपछि म्याक्समै उनको अप्रेसन र प्लास्टिक सर्जरी भयो। दुई वटा निजी अस्पतालद्वारा जारी गरिएका मेडिकल बुलेटिनहरूका अनुसार उनका नाक, श्वास नली, दाँत, चिउडो, गिजा र निधारमा अनेकौँ चोट र फ्याक्चरहरू भएका छन्। उनलाई निको हुन निकै समय लाग्ने डाक्टरहरूले बताएका छन्। दिल्लीमा लगभग चालीस दिन सघन उपचार, अप्रेसन र अनुहारको प्लास्टिक सर्जरी गरेर सिलगढी निवासमा आइपुगेका केएन राई निक्कै भावुक देखिन्थे। पत्रकारहरूसँग धीमा स्वरमा बोल्दै उनले भने, ’मैले राजनीतिमार्फत तीस वर्षभन्दा धेरै सिक्किमवासीको सेवा गरेँ। विधानसभा अध्यक्ष, मन्त्री र जनप्रतिनिधि भएर मैले जनताकै सेवा गरेँ। तर, ६५ वर्षको उमेरमा मैले यस्तो प्राणघातक आक्रमण खप्नु पऱ्यो। आक्रमणपछि नाकबाट रगत बगिरहेथ्यो, मुख खोल्न हुँदैनथ्यो। पलपल श्वास फेर्नु असाध्यै पीड़ा भयो। मैले एक-एक क्षण अत्यन्त कष्टसँग बिताएको छु। शारीरिक यातनासँग झेलेको छु। यस्तो आक्रमण र पीड़ा शत्रुले पनि भोग्न नपरोस्। मृत्युसँग जुझेर बडो कष्टसँग मैले यी दिनहरू बाँचेको छु।‘ बोनम्यारोसँग सम्बन्धित रोगले १४ वर्षदेखि आक्रान्त उनी यो आक्रमणपछि अत्यन्त शिथिल र दुर्बल भएका छन्। यसरी सिक्किमे आमाको निम्ति रगत पनि बगाउनु पर्नेछ भन्ने कल्पनासमेत आफूले नगरेको बताउँदै उनले भावुक स्वरमा भने, ‘आमाको गर्भ, स्तनपान, सिक्किमको माटोले मेरो रगत बनेको हो। ९४ वर्षीय मेरी आमालाई ‘बेलुकी घर आउँछु’ भनेर निक्लेको थिएँ त्यसदिन। मेरो प्राण लिनेगरी आक्रमण भएको खबर सुनेर मेरी आमाको मनमा के बित्यो होला? होश नहराउञ्जेल मेरो मनमा त्यही चिन्ता परिरह्यो। हमला हुनअघि पनि म भत्केको बाटो कसरी बनाउनु भन्ने विषयमा कुराकानी गरिरहेको थिएँ। तीस वर्षभन्दा बेसी समय आफ्नो जीवन सिक्किमे जनतालाई दिएर पनि बुढेसकालमा रगतसमेत दिनुपर्दा म अत्यन्त संवेदनशील बनेको छु। हाम्रो समाज कता जाँदैछ’ उनले प्रश्न गरे। उनले भने, ‘अघिबाटै रोगले पीडित त राज्यका एक वरिष्ठ नागरिक र पूर्व विधानसभा अध्यक्षमाथि सत्तारूढ पार्टीका क्याडरहरूले प्राणघातक हमला गरे पनि सिक्किमका साथीभाई, शुभचिन्तक, पार्टीका साथीहरू, राज्यवासी अनि मेरो परिवारले दिनरात मेरो निम्ति गरेको प्रार्थना, स्याहार, शुभचिन्ताले म निको भएर यहाँसम्म आउन सकेँ। यसको श्रेय म तपाईँहरूलाई दिन चाहन्छु।‘
‘पूर्व विधानसभा अध्यक्षमाथि यस्तो घातक हमला हुँदा सरकारले सामान्य प्रोटोकल पनि निभाएन। केही सहयोग गरेन। प्रारम्भिक स्वास्थ्य सेवा धरी दिएन। एउटा मेडिकल बुलेटिन निकाल्नुपर्ने जिम्मेवारी बोध गरेन। हामी कति अमानवीय सरकारको अधीनमा छौ? साथीभाई, ईष्टमित्र र परिवारको सहयोगले म बाँचेर आउन सकेँ। सरकारले मेरो हालखबर बुझ्न एकजना स्वास्थ्य अधिकारी दिल्ली पठाउने जिम्मेवारी बोध गरेन। सहयोग त परै जाओस्, सामान्य मानवीय शिष्टाचारसमेत सरकारले राखेन। यदि निर्दयी र अमानवीय सरकार मैले कतै देखेको छैन।‘ हमला वर्तमान सरकारको निर्दोशनमा भएको उनले आरोप लगाए। सरकार ‘गिल्टी’ भएकोले उसलाई अपराधबोध भएको उनको भनाइ थियो।
सिलगढीस्थित निवासमा पत्रकारहरूसँगको छोटो कुराकानीमा उनले भने, ‘हामीले यस्तो आतंकको सिक्किम चाहेको होइन। सिक्किम बनाउन हामीले आफ्नो जीवनै दियौँ। आज यो सरकारले मजस्तो मान्छेको खुन पनि लिँदैछ। सिक्किमका शिक्षित, बौद्धिक अनि युवा समुदाय यसमाथि गम्भीर र चिन्तनशील हुन आवश्यक छ। राजनीतिमाथि क्रिटिकल छलफल हुनुपर्छ। भौतिक आक्रमण होइन। आजको डिजिटल युगमा केही कुरा लुक्दैन। यस्तो शत्रुता र वैमनष्यता सरकारले फैलाउँछ भने सिक्किमे जनताले गम्भीर भएर सोच्ने समय आएको छ। डेमोक्रेसी बँचाउन सिक्किमे जनता खुलेर अघि आउनुपर्छ।‘
८ मार्च दिल्लीबाट दुई घण्टाको यात्रा गरेर सिलगढी आइपुग्दा उनको शरीर शिथिल भइसकेको थियो। ‘बल्लतल्ल सिलगढी आइपुगेँ। सिक्किम पुग्ने आँट छैन अहिले। तर, म एक-दुई दिनमै सिक्किम जान्छु’, आत्मबल बलियो बनाएर राईले भने। डाक्टरले उनलाई जाती हुन नौ महिनाभन्दा बेसी समय लाग्ने बताएको छ। तर, उनको सिक्किम पुग्ने छटपटी र अठोट दृढ देखिन्छ।