सिक्किमलाई विश्वकै पहिलो कार्बन नेगेटिभ राज्य बनाउने एसडीएफको कार्यक्रम

IMG-20240411-WA00031.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले सिक्किमलाई विश्वकै पहिलो कार्बन नेगेटिभ राज्य बनाउने एसडीएफको कार्यक्रम रहेको बताएका छन्। उनले भने, सिक्किमलाई कार्बन नेगेटिभ राज्य बनाउन सक्यौं भने पर्यटनको विकास हुनेछ, सिक्किममा आउने पर्यटकहरूको संख्या सयौं गुना बढ्नेछ।

बुधबार पाकिम जिल्लाको नाम्चेबुङमा आयोजित एसडीएफ पार्टीको चुनावी जनसभामा चामलिङले भने, हामी नाम्चेबुङ्मा मंगर सांस्कृतिक भवनको निर्माण गर्ने छौं। रानीपुलमा आधुनिक कार प्लाजा निर्माण गर्ने हाम्रो कार्यक्रम छ, यस क्षेत्रलाई आर्थिक क्षेत्रका रूपमा परिणत गरी रोजगारीका अवसरहरू सिर्जना गर्नेछौं। उनले सबै विकासका कार्य गर्नका लागि सिक्किममा शान्ति सुरक्षा हुनुपर्छ, निवेश गर्ने वातावरण हुनुपर्छ भने। यसैले राज्यको शान्ति, सुरक्षा, विकास र समृद्धिका लागि अनि सिक्किम बचाउनका लागि एसडीएफ पार्टीका उम्मेदवारहरूलाई जिताउन उनले अपील गरे।

उनले भने, हाम्रो सरकार आएपछि सिक्किममा सिक्किमेको राज हुनेछ। सिक्किम र सिक्किमे जनताको सुरक्षा संविधान अनुसार हुनुपर्छ। उनले भने, २५ वर्षसम्म हामीले सिक्किमको हित हक र अधिकारसंग कुनै पनि परिस्थितिमा सम्झौता गरेनौं तर एसकेएम सरकारले सबै पुराना कानुनहरूलाई तरलीकरण गराएर सिक्किमेको हित हक र अधिकारसँग खेलवाड गर्ने काम गरेको छ। एसकेएम सरकारले धर्मलाई राजनितिकरण गरेर जनतालाई दिग्भ्रमित गर्दैछ भन्दै जनतालाई दिग्भ्रमित नबन्न र सत्य तथ्यलाई बुझ्न उनले अपील गरे। उनले भने, हामी सिक्किममा दिगो विकासलाई प्राथमिकता दिनेछौं। जीवनमुखी विकास गर्नेछौं। हामी घोषणा पत्रमा भएका सबै काम गर्न प्रतिबद्ध छौं। हामी जे वचन दिन्छौं, ती पूरा गर्नेछौं।

कार्यक्रमलाई लोकसभा उम्मेदवार पीडी राई र एसडीएफ प्रवक्ता केशव सापकोटाले पनि सम्बोधन गरेको जानकारी एसडीएफले प्रेस विज्ञप्तिमा दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement