गान्तोक: दरमदिन समष्टिमा एसकेएम पार्टीको जनसम्पर्क अभियान युद्धस्तरमा सम्पन्न भइरहेको छ। गत पाँच अप्रेलदेखि दोदक ब्लकबाट आरम्भ भएको चुनावी सभा धारावाहिक रूपमा विभिन्न ब्लक हुँदै आज रिब्दी-भरेङ र ओख्रे ब्लकलाई समेटेर रिब्दीस्थित ट्याक्की डाँडामा सम्पन्न भयो। उक्त चुनावी सभामा निवर्तमान विधायक एवं एसकेएम पार्टीका उम्मेदवार एमएन शेर्पा, पूर्व विधायकद्वय तेञ्जी शेर्पा र डीएन शेर्पा, पूर्व अध्यक्षद्वय पीके सुब्बा लगायत अन्यहरूको उपस्थिति थियो। आजको सभामा दरमदिन समष्टिको सिटिजन एक्सन पार्टीका संयुक्त सचिव विजय लोहार विधिवत रूपमा एसकेएम पार्टीमा सामेल भएका छन्। उनलाई निवर्तमान विधायक एवं उम्मेदवार एमएन शेर्पाले खादा अर्पण गरेर स्वागत जनाए। यसरी नै लुङ्चोक निवासी एसडीएफ पार्टीका समर्थक घट्टे लेप्चा पनि एसकेएममा सामेल भए।