पाँच वर्षको कार्यकालमा सबै काम आफूले मनबाट गरेको गोलेको मन्तव्य
राभाङ्गला: आगामी ११औं विधानसभा चुनाउ अनि १८औं लोकसभालाई मध्य नजर राख्दै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले धारावाहिक रुपमा शुरु गरेको चुनावी सभा आज राभङलामा भव्य सम्पन्न भयो। चारवटा समष्टीलाई लिएर संयुक्त रुपमा आयोजना गरिएको चुनावी सभामा मुख्य अतिथिकोरुपमा पार्टी अध्यक्ष प्रेमसिंह तामाङ रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तामाङले शोसक सामान्तिहरूको पञ्जाबाट कसले आएर छुटाउने भनेर अनेकौं वर्षदेखि सिक्किमे जनता पर्खेर बसेका थिए। सारा सिक्किमेहरूलाई त्यो पञ्जाबाट छुटाएर राज्यमा व्यवस्था परिवर्तन गर्नको निम्ति क्रान्तिको बिगुल आफूले फुकेको अनि जनताले आफूमाथि विश्वास गरेर वर्ष २०१९ मा नै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई सरकार चलाउन राज्यको बागडोर प्रदान गरेको बताए। यसरी नै सिक्किमे जनताको विश्वासलाई कायम गर्दै पाँच वर्षभित्र धेरै जन कल्याणकारी योजनाहरूको शुरुआत गरेको जानकारी गराए। आज कुनै पनि घरमा अथवा जो कोही पनि रोगी बनेर अस्पतालमा स्वास्थ्य सेवा लिन जानपरे सरकारलाई सम्झिने साथै सरकारमाथि भरोसा गर्ने विश्वास दिलाए। अहिले कोही पनि उपचार नपाएर त्यतिकै औछ्यानमा थलिन परेको अवस्था सिक्किममा नआएको बताए। कुनै पनि जटिल रोग लागेर उपचार गर्न जानपरे अहिले कोही पनि सिक्किमे जनताले आफ्नो सम्पति अनि जमिन बेच्नुपर्ने स्थिति सँधैंको निम्ति अन्त भएको किटान गरे।
पूर्व सरकारमा चुनाउ अघि मात्र जनता मेला आयोजना गरेर विकासको नाममा निम्न स्तरको सामग्रीहरू दिने गरेको तर सिक्किम क्रान्तिकारी मर्चा पार्टीको सरकारले जनताले सरकारबाट प्राप्त गर्ने सबै प्रकारको सहुलियतहरू प्रदान गरेको बताए। पाँच वर्षको कार्यकालमा आफूले सबै कामहरू मनबाट गरेको उनले अवगत गराए। अब फेरि दोस्रोपल्ट सरकार गठन गर्नसाथै सिक्किमे नागरिकहरूलाई सबै प्रकारको सहुलियतहरू जनतालाई प्रदान गर्ने पनि उनले जानकारी गराए। आचार संहिताको समयमा पनि चुनाउ आयोगबाट अनुमति लिएर अब जनताले प्राप्त गर्ने सहुलियतहरू हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न हुने पनि उनले अवगत गराए। पाँच वर्षको कार्यकालमा सरकारले जनतालाई दिएको सेवाको कारण फेरि पनि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई सत्तामा पुऱ्याउन मन बनाइसकेको केवल १९ तारिख टेबल ल्यम्पको चिन्हमा भोट हाल्ने समय मात्र पर्खिरहेको बताए। जसै दोस्रोपल्ट सरकार गठन हुनेछ प्रथम दिनदेखिनै जनताको काम गर्न शुरु गर्ने उनले बचन दिए। यससँगै अबको कार्यकालमा 60 वर्भन्दा माथि पुगेका वरिष्ठ नागरिकहरूलाई पाँच हजार प्रतिमहिना भत्ता दिने पनि घोषणा गरे। यसरी नै अब निर्वाचित जनप्रतिनिधिहरूको वेतनको कटौती गर्ने पनि घोषणा गरे। त्यो कटौती गरेको वेतन जनसेवामा लगाउने पनि कार्यक्रममा जानकारी गराए। आफूले पनि सरकार आउनसाथै सबै अनावश्यक खर्चहरूको कटौती गरेको किटान गरे। जनतालाई सेवा पुऱ्याउनहे तु नै यो सबै पहल शुरू गरेको उनको भनाइ रहेको थियो।