मुल्लांपुर: पञ्जाब किंग्सले आईपीएल २०२४-मा तेस्रो हारको सामना गर्नु पऱ्यो। मंगलवार राति मुल्लांपुरमा खेलिएको रोमाञ्चक म्याचमा होम टीमलाई सनराइजर्स हैदराबादले २ रनले पराजित गऱ्यो। म्याच जित्न पञ्जाब किंग्सलाई अन्तिम ओभरमा २९ रनको आवश्यकता थियो तर टीमले भरपूर प्रयास गरेर पनि २६ रन मात्र बनाउन सक्यो। पञ्जाबको निम्ति शशांक सिंह र आशुतोष शर्माले अन्तसम्म लड़ाइँ गरे पनि टीमलाई बचाउन सकेनन्। यस म्याचमा जीतपछि सनराइजर्स ५ वटा म्याचमा ६ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलमा पाँचौं स्थानमा पुग्यो। यसरी छैटौं स्थानमा रहने पञ्जाब किंग्ससँग ४ पोइण्ट्स रहेको छ। आईपीएल २०२४-मा तेस्रोपल्ट हारको सामना गरेपछि पञ्जाब किंग्सका कप्तान शिखर धवनले हारका कारणहरूबारे चर्चा गरे। धवनले भने, शशांक र आशुतोषले हाम्रो निम्ति असाधारण ईनिंग्स खेले। हामीले उनीहरूलाई असल स्कोरमा रोकेका थियौं तर हामीले पहिलो ६ ओभरको फाइदा उठाउन सकेनौ अनि ३ विकेट गुमायौ। मेरो विचारमा हामी त्यहीँबाट पछाड़ियौ अनि अन्तमा परिणाम भोग्नु पऱ्यो। पञ्जाब किंग्सका कप्तानले भने, हामीले यस म्याचबाट शिक्षा लिएर आफ्नो दृष्टिकोण बद्लिनु पर्नेछ। हाम्रो फील्डिंग पनि स्तरीय रहेन अनि अन्तिम ओभरमा पनि क्याच छोड़्यौं। त्यसपछि ब्याटरहरूले निराश गरे। धवनले शशांक र आशुतोषको प्रशंसा गर्दै भने, युवाहरूले यसप्रकारको निरन्तरता देखाउँदा राम्रो लाग्छ। मलाई त यी दुईले खेल समाप्त गर्ने लागिरहेको थियो तर हामी धेरै नजिकसम्म पुग्न सक्यौं। यसले हामीलाई आत्मविश्वास प्राप्त हुनेछ। हामीले आउँदो म्याचहरूमा असल प्रदर्शन गर्नु पर्नेछ।
म्याचको कुरा गर्दा टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनायो। खराब शुरुवातपछि सनराइजर्सबाट युवा नितिश कुमार रेड्डीले असाधारण ब्याटिंग गर्दै अर्द्धशतक बनाए। उनले ३७ बलमा ६४ रन बनाए, जसमा ५ वटा छक्का र ४ वटा चौका सामेल छ। यसबाहेक अब्दुल सामदले २५ र ट्रेविस हेडले २१ रनको योगदान दिए। फर्ममा रहने ऐडन मार्करम शून्य र हेनरिक क्लासेन ९ रन बनाएर आउट भए। पञ्जाबका बलरहरूमा अर्शदीप सिंहले सर्वाधिक ४ विकेट लिए। यसबाहेक सेम कुरेन र हर्षल पटेलले २-२ विकेट हासिल गरे। त्यसपछि पञ्जाब किंग्सको पनि शुरुवात खराब रह्यो अनि ईनिंग्सको २८ बल भित्र शीर्ष तीनजना ब्याटर आउट भइसकेका थिए। त्यहाँबाट पञ्जाबले म्याचलाई नियन्त्रणमा राख्न सकेन। अन्तिम ओभरहरूमा शशांक सिंह (अविजित ४६ रन) र आशुतोष शर्मा (अविजित ३३)-ले भरपूर प्रयास गरे पनि टीमलाई जिताउन सकेनन्। शशांकले २५ बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाए। यसरी आशुतोषले १५ बल खेलेर २ वटा छक्का र ३ वटा चौका लगाए। यसबाहेक सेम कुरेनले २९ र सिकन्दर राजाले २८ रनको योगदान दिए। नितिश कुमारलाई प्लेयर अव् द म्याच चयन गरियो।