गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले पाकिम बजारलाई आधुनिकीकरण गर्ने अनि इको सिटीमा रूपान्तरण गर्ने एसडीएफ पार्टीको कार्यक्रम रहेको बताएका छन्।
चामलिङले आज पाकिममा चुनावी जनसभामा यस्तो घोषणा गर्दै मतदाताहरूलाई सिक्किमको विकास, शान्ति, सुरक्षा अनि सिक्किम बचाउन एसडीएफ पार्टीलाई मतदान गर्न अपील गरे।
पश्चिम पाण्डाम, रिनाक, छुजाचेन अनि नाथाङ माछोङ समष्टिका जनतालाई सम्बोधन गर्दै चामलिङले भने, आउँदो सरकारमा हामी प्रत्येक समष्टिमा महकुमा कार्यालय बनाउने छौं। उनले पाकिम विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने बताउँदै विमालस्थल मुनिको जमीनमा ग्रीन पार्क निर्माण गर्ने बताए। उनले पाकिममा आधुनिक कार प्लाजा, जिल्ला अस्पताल निर्माण गर्ने पनि बताए।
उनले छुजाचेन समष्टिमा पर्यटन केन्द्रहरूको विकास गर्ने अनि छुजाचेन र रिनाकका बीचमा संस्कृत महाविद्यालय स्थापना गर्ने घोषणा गरे। उनले रंगेलीमा कार प्लाजा निर्माण गर्ने, पाण्डाम गढीमा निशानीकालीको मूर्ति र मन्दिरको निर्माण कार्य पूरा गर्ने, रम्फूमा इन्द्रकील प्रयाग निर्माण गर्ने, आसाम लिङ्जेमा गल्फ कोर्ट बनाउने, नाम्चेबुङमा आइटी पार्क निर्माण गर्ने, नाथाङ माछोङमा कलेजको स्थापना गर्ने घोषणा गरे।
उनले भने, २५ वर्ष हामीले सिक्किम र सिक्किमे जनताको हक अधिकारसित सम्झौँता गरेनौँ। हाम्रो सिद्धान्त ३७१ एफको आधारमा सिक्किम र सिक्किमे जनताको सुरक्षा गर्नु हो। एसकेएम पार्टीको नाममात्र रिजनल पार्टी हो भन्दै उनले भने, एसकेएम पार्टी सरकारमा आएपछि सबै हक अधिकार उड्यो। ३७१ एफ तरलीकरण भयो।
चामलिङले भने, यसपालीको चुनाउ सिक्किमलाई सुरक्षा गर्ने जनमत सङ्ग्रह हो। रेफेरेन्डम हो। यसैले सिक्किमे जनताले सचेत भएर सिक्किम बचाउन एसडीएफ पार्टीका उम्मेदवारहरूलाई जिताउन आवश्यक भएको छ। चुनाउ जनताको प्रजातान्त्रिक जिम्मेवारी हो भन्दै चामलिङले सिक्किमको निम्ति, सिक्किम बचाउनका निम्ति अनि शान्ति सुरक्षा र विकासका लागि एसडीएफलाई मतदान गर्न अपील गरे।
जनसभालाई पश्चिम पाण्डामका एसडीएफ उम्मेदवार अनुप ठटाल, रिनाकका उम्मेदवार सोमनाथ पौड्याल, छुजाचेन समष्टिका उम्मेदवार मणिकुमार गुरुङ, नाथाङ माछोङका उम्मेदवार छिरिङवाङ्दी लेप्चा र लोकसभा उम्मेदवार पीडी राईले पनि सम्बोधन गरेको एसडीएफद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ।